१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

माधव नेपालको गुनासो : पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडे

१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् ।

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने कामसमेत भएको भन्दै गुनासो गरेका हुन् ।

अध्यक्ष नेपालका अनुसार ७ वटा कारणले पार्टीले स्थानीय तहको निर्वाचनमा अपेक्षित मत ल्याउन नसकेको निष्कर्षसहित छलफलका लागि प्रतिवेदन पेस गरेका छन् । जसअनुसार पहिलो गठबन्धन भई हाल्छ भने आफ्नो तयारीमा नलाग्ने, दोस्रो आफूलाई केन्द्रमा राखेर गठबन्धन गर्न चाहाने अर्थात हाम्रो संगठन जहाँ तुलनात्मक रुपमा बलियो छ, त्यहाँ लिन जोड गर्नुपर्ने, त्यस्तो नगरी व्यक्तिलाई केन्द्रमा राखेर सिट लिन चाहने कार्य स्थानीय पार्टीपंक्तिमा देखापरेको नेपालको भनाइ छ ।

यसैगरी, गठबन्धन हुँदा उम्मेदवारी दिन तँछाडमछाड गर्ने, तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी पनि फिर्ता लिने, चौथो चुनावलाई जनतामाझ राजनीति पुर्‍याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्रै ठान्ने, पाँचौं, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी फिर्ता लिने, छैटौं आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने, सातौं आफ्नो वास्तविक शक्ति र प्रभावको आंकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आंकक्षा राख्ने कार्य देखापरेको भन्दै अध्यक्ष नेपालले आगामी चुनावमा यसबाट पाठ लिनुपर्नेमा जोड गरेका छन् । नेकपा एसको स्थायी कमिटी बैठक जारी छ ।

प्रकाशित मिति : June 15, 2022 at 3:30 pm