अनाधिकृत पुस्तक वितरण गर्नेलाई कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल
३१ जेठ, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनाधिकृत रुपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि कारबाही गरिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले स्वीकृति नदिएका पाठ्यपुस्ततक वितरण गर्नेलाई अविलम्ब कारबाही गर्ने जानकारी दिए ।
सांसदहरुले धर्म परिवर्तन गराउने कार्यमा संलग्न भएर सरकारले पाठ्युस्तक तयार गरेर वितरण गरेको भन्दै आपत्ति जनाएका थिए । सोही विषयमा जवाफ दिँदै मन्त्री पौडेलले सरकारले स्वीकृति दिएका पाठ्यपुस्तकमा यस्ता कुरा समावेश नभएको दाबी गरे । बरु केही जिल्लामा केही संस्थाले वितरण गरेको पुस्तकमा उक्त विषय समावेश भएको देखिएकाले अविलम्ब यस कार्यमा संलग्नमाथि कारबाही गरिने उनको प्रतिबद्धता छ ।
‘स्वीकृत भएका पुस्तकमा केही माननीय सदस्यहरुले उठाएका कुरा पाठ्यक्रममा काहीँ पनि समावेश छैन । हामीलाई जानकारी पनि छैन । हामीले बजारमा बुझ्दाखेरी, तथ्य बुझ्दाखेरी, तराईको कुनै जिल्लामा यस प्रकारका किताबहरु, त्यस प्रकारका संस्थाले अतिरिक्त अध्ययनका लागि वितरण गरेको प्रारम्भिक सूचना आएको छ,’ बैठकमा मन्त्री पौडेलले भने, ‘अनाधिकृत रुपमा त्यस्ता पुस्तक कसले वितरण गरेका छन् । खोजबिन गरेर अविलम्ब कानुनी कारबाही गरिनेछ ।’
प्रकाशित मिति : June 14, 2022 at 2:18 pm









