१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

कोभिड महामारीमा कर्मचारीहरूले समझदारीपूर्ण सहयोग गरे : अध्यक्ष अग्रवाल

२९ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोडिभ–१९ को विशेष परिस्थितिमा नेपाली श्रमिक एवं कर्मचारीले निकै नै समझदारीपूर्ण सहयोग गरेको बताएका छन् । परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा आज भएको छलफल उनले यस्तो बताएका हुन् ।

परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका पदाधिकारीहरूलाई स्वागत तथा बधाई दिन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्धलगायत विषयमा छलफल भएको छ । केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै अध्यक्ष अग्रवालले ट्रेड युनियन, कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेको दोहोर्ए ।

कार्यक्रमा उनले मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितीमा परेको चाप रहेको बताए । ‘तरलताको समस्या हुँदा उद्योगीहरूले बैंकबाट ऋण पाइरहेका छैनन् । नयाँ उद्योगहरू स्थापना हुन सकेका छैनन् । भएका उद्योगहरुले पनि लगानी विस्तार गर्न पाइरहेको अवस्था छैन,’ उनले भने ।
कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको बताए । उनले न्यूनतम पारिश्रमिक लागु गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा पनि थोरै मात्र कर्मचारी, श्रमिक आवद्ध भएको बताए । उनले श्रमिकहरूको सीप विकासमा रोजगारदातासहित राज्यले पनि दायित्व निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले श्रमिकका कारणले उद्योग व्यवसाय बन्द हुने अवस्था नभएको तर सरकारको राजश्वसम्बन्धी नीतिका कारण उद्योगीहरूले नै उद्योग बन्द गर्नुपर्ने अवस्था देखिएको बताए ।

कार्यक्रममा परिसंघको रोजगारदाता परिषद्का संयोजक अमित बेगानी, परिसंघका महानिर्देशक दिपकराज जोशी, केन्द्रका महासचिव नवराज दाहाल, महिला समिति सचिव रीता पोखरेल, संयुक्त टे«ड यूनियन समन्वय केन्द्रमा आबद्ध १० वटा राष्ट्रिय टे«ड यूनियन महासंघका अध्यक्ष एवं पदाधिकारीहरू सहभागी थिए ।

प्रकाशित मिति : June 12, 2022 at 3:24 pm