१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

निर्मला पन्त र सन्नी खुनाको परिवारलार्इ प्रदेश सरकारको तर्फबाट पाँच/पाँच लाख राहत

१० भदाै, कञ्चनपुर ।  प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले निर्मला पन्त र सनी खुनाका परिवारसँग भेटवार्ता गर्नुभएको छ । उहाँले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका बलात्कारपश्चात् हत्या गरिएकी १३ वर्षीया पन्तका परिवार र सोही नगरपालिकाको वडा नं १८ सालघारीका प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १४ वर्षीय खुनाका आफन्तसँग घरमै गएर आज भेटघाट गर्नुभयो ।

भेटघाटका क्रममा मन्त्री शाहले पीडित परिवारसँग घटनाका बारेमा जानकारी लिनुका साथै प्रदेश सरकारका तर्फबाट दुवै परिवारलाई रु पाँच÷पाँच लाखका दरले राहतस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी गराउनुभयो ।

उहाँले उच्चस्तरीय टोलीले अनुसन्धान थालेकाले अपराधी उम्केर नजाने बताउनुभयो । निर्मलाका बुबा यज्ञराज पन्तले मन्त्री शाहलाई राहतको रकमभन्दा दोषी पत्ता लगाई सरकारले लागू गरेको कानूनअनुसार कारबाही हुनुपर्ने बताउनुभयो ।

“हामीलाई न्याय चाहिएको छ”, उहाँले भन्नुभयो, “दोषीमाथि तत्काल कारबाही होस् ।” मन्त्री शाहले यसअघि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतसँग सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री शाहसँगै प्रदश नं ७ का प्रदेशसभा सदस्य र नेकपाका नेता लेखराज भट्टलेसमेत भेटघाट गर्नुभएको छ । सैबीच उच्चस्तरीय अनुसन्धान टोलीले समेत बालात्कारपश्चात् हत्या गरिएकी पन्तका परिवारसँग घटनाबारे जानकारी लिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार २१:०२