२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

नुवाकोटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री देउवालाई एमालेको ज्ञापनपत्र (पत्रसहित)


२४ जेठ, नुवाकोट । नेकपा एमाले नुवाकोटको जनसंगठन समन्वय संयन्त्र १५ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार जनसंगठन समन्वय संयन्त्रका संयोजक निलकण्ठ आचार्य नेतृत्वको टोलीले नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्रमा किसानले मल नपाएको गुनासोदेखि मूल्यवृद्धि र महंगीले नागरिकको ढाड सेकेको विषयमा सरकारलाइ गम्भीर हुन भनिएको छ । ज्ञापनपत्रमा भनिएको छ, “नेपालीहरुको प्रमुख खाद्यवाली मकै तथा धान उत्पादन गर्ने बेला नै रासायनिक मलको अभाव भइरहेको छ, तसर्थ यथाशीघ्र कृषकको लागि पर्याप्त मात्रामा रासायनिक मलको आपूर्ति गर्ने व्यवस्था गर्न हामी जोडदार माग गरेको छ । शैक्षिक सत्र शुरु भएको एक महिना बित्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीहरुले शिक्षा प्राप्त गर्नबाट बञ्चित हुनु बिडम्बना हो । तसर्थ बालबालिकाहरुलाई यथाशीघ्र पाठ्यपुस्तक उपलब्ध गराईयोस् ।”

यस्तै, विद्यार्थी आन्दोलनबाट प्राप्त सार्वजनिक सवारीसाधनमा ४५ प्रतिशत छुट दिदैं आएकोमा हाल यातायात व्यवसायीहरुले छुट दिन आनाकानी गरिरहेकोले विद्यार्थी आन्दोलन माथि नै धावा बोलेको आभाष भएकोले विद्यार्थी अधिकार सुनिश्चित गर्दै कायम गर्न माग गरेको छ।

ज्ञापनपत्रमा सवारीसाधनमा अनिवार्य गरिएको इम्बोस्ट नम्बर प्लेट बाध्यकारी खारेज गर्न भनि उल्लेख छ। ज्ञापनपत्र बुझाउन एमाले नुवाकोटका उपाध्यक्ष बुद्दि प्रधान, उपसचिव निलकण्ठ अाचार्य, जिल्ला कमिटीका सदस्यहरू र विदुर नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठ लगायत जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेका थिए ।

यस्तो छ ज्ञापनपत्र ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार २२:५१