१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निर्मला पन्तको बलात्कारपछिको हत्याको छानविन गर्न गठित टोली स्थलगत अनुगमनमा

१० भदाै, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आज बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ ।

दुई दिनअघि छानविनका लागि यहाँ आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ ।

टोली यहाँ आइपुगेकै समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै यहाँका स्थानीयले आन्दोलन चर्काएका थिए ।

आन्दोलनरत पक्षले बमको घरमा बढी अनुसन्धान केन्द्रित हुनुपर्ने र मानसिक सन्तुलन गुमाएका व्यक्तिले बलात्कारी गरी हत्या नगरेको दाबी छ । भीमदत्तनगरमा जिल्ला प्रशासनले स्थिति जटिल बन्न नदिन लगाएको कफ्र्युका बीच छानबिन समिति भने अनुसन्धानमा जुटिरहेको छ । छानबिन समितिसहित स्थानीय प्रशासनले आन्दोलन बन्द गरेर छानबिन सहज बनाउन आग्रहसहित यहाँका सर्वदलीय÷सर्वपक्षीय बैठकसमेत डाकेको थियो ।

सोही घटनाको यथार्थ छानबिनको माग गर्दै प्रदर्शन गर्दा शुक्रबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको गोली लागेर मृत्यु भएको थियो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्दै परिवारलाई रु १० लाख आर्थिक सहायता दिने घोषणापछि आज बिहान महाकाली नदीमा उहाँको दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार २०:०६