१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेकाे प्यानल नै निर्विरोध


२२ जेठ, अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीकाे सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । ५ दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेकाे पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।

यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण काेइराला निर्विरोध चयन भएका छन् । पाणिनी-५ मैदान निवासी कोईराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहेका छन् । यसैगरी उपप्रमुखमा एमाले नेतृ लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् । छत्रदेव-१ चिदीका निवासी ज्ञवाली नेकपाकाे निरन्तरताकाे रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।

यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू पाणिनी-७ का कमल घिमिरे , भुमिकास्थान-८ का झुपलाल खनाल र सन्धिखर्क-७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् । महिला सदस्यमा एमाले नेतृ टुल्कादेबी आचार्य, मालारानी-४,डालकुमारी भण्डारी, शितगंगा-१०,सीता आचार्य, मालारानी-१ चयन भएका छन् । दलित/अल्पसंख्यक सदस्य पदमा मिना बि.सी. परियार चयन भएका छन् ।

जिल्लाका ६ वटा पालिका मध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो । समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको आठ,नेपाली कांग्रेसको दुई, राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ ।

कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरीएको छ भने नेकपा एमालेले २०५४ सालको बिरासत फिर्ता गरेको छ । निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १०:०९

https://srdb.com.np/