१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवासँगको भेटबारे मेयर बालेनकाे प्रष्टीकरण

१८ जेठ, काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेकोबारे प्रष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत् बुधबार मेयर बालेनले भेटघाटलाई अन्यथा नलिइदिन समेत अपिल गरेका छन्।

उनले भनेका छन्, ‘काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं, यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरू भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौं।’

उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका थिए । त्यसअघि उनले मतगणना भइरहँदा बालकोट पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसैगरी उनले मेयरको कार्यभार सम्हालेकै दिन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डा पुगेर भेटेका थिए।

उनले भनेका छन्, ‘राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केबल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन, स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ।’

उनले प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट गरेको र भेटघाटपछि उनीहरूको प्रेरणाले आफूहरू थप ऊर्जावान बनाएको बताए।

प्रकाशित मिति : June 1, 2022 at 10:01 pm