३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

भ्रष्टाचारले निलम्बनमा परेका वडा अध्यक्ष भन्छनः ऋणको व्याज तिर्न र आराम गर्न घरमै बसेको हुँ


१५ जेठ, नुवाकोट । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडेर विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि अनौठो प्रतिक्रिया दिएका छन ।

भण्डारीले दैनिकीसँग कुरा गर्दै आफू निलम्बनमा परेको नभइ बैंकबाट लिएको ऋणको व्याज तिर्नुपर्ने र केही आराम पनि गर्नुपरेको कारण गठबन्धनबाटै विजयी भएको वडा सदस्यलाई कार्यबाहक दिएको र आफू घरमा बसेको बताएका छन । विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएपछि जेठ ९ गते सपथ खाएर पदबहाली गरेका भण्डारीले जेठ १२ गते नै वडा सदस्य राजकुमार श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी दिएका छन ।

हामीले यस विषयमा भण्डारीसँग प्रतिक्रिया मागेका थियौँ । प्रस्तुत छ भण्डारीसँगको कुराकानीको अंश

दैनिकीः तपाईंले वडा अध्यक्षको जिम्मेवारी छाडेर कार्यबाहक दिनुभएको हो ?

हरिराम भण्डारीः हो मैले । कर्यबाहक दिएको छु ।

दैनिकीः किन र कसलाई दिनु भयो त कार्यबाहक ?

हरिराम भण्डारीः मैले आराम पनि गर्नुपर्ने थियो, अन्य काम पनि बाँकी छन मुख्य त मेरो बैंकबाट लिएको ऋणको व्याज तिर्नुपर्ने छ । त्यही भएर तीन महिनाका लागि कार्यबाहक दिएको हुँ ।

दैनिकीः तपाईले निलम्बनमा परेपछि कार्यबाहक दिनुभएको भन्ने छ नि ?

हरिराम भण्डारीः त्यो सबै भ्रम हो । म किन निलम्बनमा पर्ने रु म त चुनावबाट जितेर आएको मान्छे हो । केहीले मेरो बारेमा भ्रम फैलाएको मैले पनि थाहा पाएँ । खासमा म चाहिँ ऋणको व्यज तिर्नुपर्ने भएकाले कार्यबाहक दिएको हुँ ।

दैनिकीः भनेपछि तपाई निलम्बन परेको हैन ?

हरिराम भण्डारीः म निलम्बनमा परेको होइन । खासमा हामीले गठबन्धन गरेरै चुनाव लडेका थियौँ । आफूले पनि आराम गर्नुपर्ने र अरू काम पनि गर्नुपर्ने । त्यसपछि गठबन्धनका तर्फबाट वडा सदस्यमा विजयी भएका राजकुमार श्रेष्ठलाई कार्यबाहक दिएको हुँ । कतिपयले आर्थिक हिनामिना गर्यो के गर्यो भनिरहेका छन । म त्यस्तो मान्छे होइन ।

दैनिकीः अँ साँच्चै तपाईको विशेष अदालतमा भ्रष्टाचार मुद्दा थियो नि के भो त्यो चाहिँ ?

हरिराम भण्डारीः त्यो मुद्दा त चलिरहेकै छ । त्यसको फैसला आउन बाँकी छ ।

दैनिकीः तपाई त त्यही मुद्दाका कारण निलम्बनमा परेर कार्यबाहक दिनुभएको कुरा छ नि त ?

हरिराम भण्डारीः त्यस्तो हैन । मान्छेहरू मेरो कुरा बुझ्दैनन् । मेरो ऋणको व्याज तिर्नुछ । त्यही भएर हो । आराम गरेर पछि म फर्किहाल्छु ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल भाद्र महिनामा नुवाको जिल्लाको विदुरमा रहेको सुलक्षणा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक हाल वडा अध्यक्षमा विजयी भएका हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उनीसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालीन विद्यालयका निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो ।

तर भण्डारीले निर्वाचन आयोगलाई झुक्याएर आफ्नो सूचना लुकाएर गठबन्धनबाट उम्मेदवार बनेर वडा अध्यक्षमा विजयी भएका थिए । उनका सम्बन्धमा स्थानीयले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका थिए । त्यसपछि अख्तियारले पत्र लेखेर निर्वाचन आयोगलाई भण्डारी निलम्बनमा पर्ने जानकारी गराएको छ ।

विद्यालयको शिक्षक रहेको अवस्थामा भण्डारीले ३ वर्षे वेतलबी विदा लिई बैदेशिक रोजगारको लागि मलेसिया गएका थिए । उनले सेवा निवृत हुने समयमा वेतलबी विदा बसेको अवधिको गणना गरी सेवा सुविधा लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । भण्डारीलाई सेवा सुविधा उपलब्ध गराउने निवृतिभरण प्रयोजनका लागि विद्यालयका निमित्त प्रअसमेत भएका बस्नेतले तयार गरी विद्यालय निरीक्षक तिमल्सिनाले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा सिफारिस गरिदिएका थिए । सोही सिफासिरसका आधारमा भण्डारीले शिक्षक कितावखानाबाट सेवानिवृत सेवासुविधा लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरको हो ।

जेठ ९ गते सोमवार सपथग्रहण गरेका हरिराम भण्डारीले वडा सदस्य राजकुमार श्रेष्ठलाई कावा वडाध्यक्षको जिम्मेवारी दिएर आफू घरमै बसेका छन । उनीमाथि भ्रष्टाचारको मुद्दा चलिरहेका कारण उनी स्वत निलम्बित हुने व्यक्ति हुन तर तीन दिन काम गरेर उनले कनिष्ठ वडा सदस्यलाइ कार्यबाहको जिम्मेवारी दिएका छन । नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले पनि भण्डारीको भ्रष्टाचारम मुद्दा टुंगो नलाग्दासम्म उनी निलम्बनमै रहने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

भण्डारी वडा अध्यक्षमा विजयी भएपछि स्थानीयहरू शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनवहादुर वोगटी, सीता वोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्धाको विवरणसहित विदुर नगरपालिका कार्यालयमा, निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराए थिए । उजुरीकर्ताले सपथ नै रोक्न माग गरे पनि सत्तागठबन्धनको छायाँमा परेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय र विदुर नगरपालिकाको कार्यालयले उनको सपथ गराएको थियो ।

यो पनि पढ्नुहोस् 

भ्रष्टाचार मुद्दा लागेका विदुर ९ का अध्यक्ष हरिराम भण्डारी सपथको तीनदिनपछि निलम्बित

नुवाकोटको सुलक्षणा माविका तत्कालीन प्रअ भण्डारीसहित तीनविरूद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार २१:१४

https://srdb.com.np/