८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नुवाकोटको सुलक्षणा माविका तत्कालीन प्रअ भण्डारीसहित तीनविरूद्ध भ्रष्टाचार मुद्दा

२१ भदाै, नुवाकोट ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नुवाको जिल्लाको विदुरमा रहेको सुलक्षणा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालीन विद्यालयका निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

विद्यालयको शिक्षक रहेको अवस्थामा भण्डारीले ३ वर्षे वेतलबी विदा लिई बैदेशिक रोजगारको लागि मलेसिया गएका थिए । उनले सेवा निवृत हुने समयमा वेतलबी विदा बसेको अवधिको गणना गरी सेवा सुविधा लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । भण्डारीलाई सेवा सुविधा उपलब्ध गराउने निवृतिभरण प्रयोजनका लागि विद्यालयका निमित्त प्रअसमेत भएका बस्नेतले तयार गरी विद्यालय निरीक्षक तिमल्सिनाले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा सिफारिस गरिदिएका थिए ।

सोही सिफासिरसका आधारमा भण्डारीले शिक्षक कितावखानाबाट सेवानिवृत सेवासुविधा लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरको हो । तत्कालिन प्रधानाध्यापक भण्डारीसहित तीन जनाविरुद्ध अख्तियारले शुक्रबार अनुसन्धान गरी मुद्दा दायर गरेको हो । भण्डारी सत्तारूढ पार्टी नेकपा माअोवादी केन्द्रका स्थानीय नेता समेत हुन । उनी गत निर्वाचनमा विदुर नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा पराजित भएका थिए ।

प्रकाशित मिति : September 7, 2019 at 9:20 pm