८ असार २०८३, सोमबार | Mon Jun 22 2026

भीम रावलको प्रश्नः सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो ?

१२ जेठ, काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल एमाले सांसद भीम रावलले सत्तारुढ गठबन्धन आवद्ध दल र सरकारले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत गतिविधि गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेर छिमेकी देशसँगको सम्बन्धमा चिसोपना बढाउने गतिविधि गरेको आरोप लगाएका हुन् ।

प्रहरीको सुरक्षामा सरकारका मन्त्री नै सहभागी भएर तिब्बत मामिला अमेरिकी उपसहायक विदेशमन्त्रीलाई जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गराउने, गुम्बामा लैजाने गरेको भन्दै उनले प्रश्न गरे, ‘नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्न्त्री देउवा, गठबन्धनमा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेका हुन् ?’

यी सबै गतिविधिप्रति सरकार मौन बसेको भन्दै रावलले आक्रोश व्यक्त गरे । ‘शक्ति राष्ट्रको प्रतिस्पर्धा र द्वन्द्वको घानमा नेपाललाई हाल्ने राष्ट्रघाती क्रियाकलाप मौन किन ?,’ आक्रोशित हुँदै उनले भने, ‘यसबारे सदनलाई जवाफ दिनुपर्छ ।’

प्रकाशित मिति : May 26, 2022 at 3:18 pm