५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको शुल्क घट्यो, ६० हजारमै तीन वर्ष पढ्न पाइने


१२ जेठ, काठमाडाैँ । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले शुल्क घटाउने निर्णय गरेको छ । शिक्षालयको बुधबार बसेको सञ्चालक समितिको बैठकले शुल्क घटाउने निर्णय गरेको सञ्चालक समितिका सदस्य विनोद न्याैपानेले जानकारी दिए ।

विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीको उपस्थितिमा बसेको सञ्चालक समितिको बैठकले यसअघि तीन वर्षको शुल्क ८५ हजार रूपैयाँ रहेकोमा शुल्क घटाइ ६० हजार रूपैयाँ निर्धारण गरेको छ । बैठकले आ.व २०७९/८० देखी शिक्षालयमा सञ्चालित डिप्लोमा इन एग्रीकल्चर वाली विज्ञान तथा पशु विज्ञान र डिप्लोमा इन होटल म्यानेजमेण्ट कार्यक्रमको ३ वर्षको जम्मा शुल्क ६० हजार रूपैयाँमात्र लिने निर्णय गरेको छ ।

पाोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोट र रसुवामै पहिलो पटक सरकारीस्तरबाट सञ्चालित छ । प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् ( CTEVT)को आङ्गिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढिरहेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल शिक्षालयको सञ्चालक समितिका अध्यक्ष रहेका छन ।

बाली विज्ञानमा ४० जना विद्यार्थी, पशु विज्ञानमा ४० जना विद्यार्थी र होटल व्यवस्थापनमा ४० जना विद्यार्थीले अध्ययनको अवसर पाएका छन । सीटीभीटीको यो शैक्षिक कार्यक्रम सञ्चालन हुने नुवाकोट ६५ औँ जिल्ला हो । तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयले नुवाकोटको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १०:१२