रिभर फल्सको आईपीओ बाँडफाँट, १६ लाख ५ हजार जनाकाे हात खाली
९ जेठ, काठमाडाैँ । रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । गोलाप्रथाबाट बल छनोट गर्दा लक्की नम्बर २ छनोट गरिएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५९ हजार २४२ जना आवेदकले २ करोड १३ लाख ९४ हजार ६३० कित्ता शेयरका लागि २ अर्ब १३ करोड ९४ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये ४९ हजार ९८३ जनाको आवेदन विभिन्न कारणले रद्ध भएको छ भने १८ लाख ९ हजार २५९ जनाको आवेदन मात्रै सदर भएको जनाएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो । गाेलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ५३ हजार ८९० जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी आवेदक १६ लाख ५ हजार ३५२ जनाको भने हात रित्तो भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १७:३९












