प्रहरीको गोलीबाट कञ्चनपुरमा सन्नी खुनाको मृत्यु, अन्य तीन जना घाइते
८ भदाै, कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका बलात्कारीलाई पक्राउ गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १४ वर्षीय सन्नी खुना रहेका छन् । गोली लागि अन्य ३ जना घाइते भएका छन् । उनीहरुको अवस्था पनि चिन्ताजनक छ ।
बिहीबार गोली हानिएकै स्थान वडा प्रहरी कार्यालय नजिकै शुक्रबार पनि प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले गोली चलेको पुष्टि गरेका छन् ।
यस्तै कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले प्रहरीको गोली लागेर केही आन्दोलनकारी घाइते भएका पुष्टि गरेपनि घटनाको विस्तृत विवरण आइनसकेको प्रतिक्रिया दिएका छन् । यसअघि बिहीबार प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा चार जना आन्दोलनकारी युवा घाइते भएका थिए ।
प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १८:४८