६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नुवाकोटको बेलकोटगढी ११ मा कांग्रेस विजयी, अन्तर्घात भएको भन्दै एमाले र माओवादीमा तनाव


३ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । केहीबेरअघि सम्पन्न मतगणनामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो । वडा अध्यक्षमा पाण्डेले ७१७ मत प्राप्त गरेर विजयी भएका छन । अहिले विजयी भएका पाण्डे २०७४ को निर्वाचनमा तेस्रो भएका थिए ।

२०७९ को स्थानीय तहको नतिजा । स्रोतः निर्वाचन आयोग

उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रेमबहादुर तामाङले ४७६ मत प्राप्त गरेका छन । त्यस्तै प्रतिस्पर्धी नेकपा एमालेका नवराज तिवारीले ४३० मत प्राप्त गरे । वडा सदस्यमा सबै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । सदस्यमा राजुमान लामा, टिकाराम तामाङ, सरिता तिवारी, चंखमाया सुनार विजयी भएका छन ।

२०७४ को स्थानीय तहको नतिजा । स्रोतः निर्वाचन आयोग

२०७४ को निर्वाचनमा यस वडामा नेकपा एमाले पहिलो दल बनेको थियो । एमालेका उम्मेदवार रामहरि पाण्डे विजयी भएका थिए । अहिले उनै पाण्डेको नेतृत्वमा उनको भेगको मत कांग्रेसमा गएको भन्दै एमालेमा असन्तुष्टि देखिएको छ । वडा अध्यक्षमा मात्र १६० मत ६ छाप सूर्य र १ छाप रूखमा हालिएको भेटिएको मतगणनामा बसेको प्रतिनिधि ध्रुव तिवारीले जानकारी दिए ।

वडा अध्यक्षका प्रत्यासी नवराज तिवारीले समाजिक सञ्जाल फेसबुक मार्फत अन्तर्घातको हिसाबकिताब हुने चेतावनी समेत दिएका छन । उनले भनेका छन, ‘पार्टी भित्रको अन्तर्घात र पार्टीप्रती गरेको बेइमानीको १र१ गरि हिसाब किताब गरिनेछ । पदमा बसी बफादारी नदेखाउने ४ बर्ष ३६४ दिन पार्टीको झन्डा बोकि १ दिन रुखमा मतदान गरि पार्टीको स्वाभिमान माथी आंच पुर्याउने लाल गद्धारहरुको हालत भविष्यमा देखिनेछ र देखाइनेछ ।’

मतगणनालाई नजिकबाट नियालेका नेकपा माओवादी केन्द्र निकटका चन्द्रमान लामाले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया ।

यस्तै नेकपा माओवादी केन्द्रका नेता जनार्दन मुभडरीले पनि चैतेहरूले माओवादी सखाप पार्न खोजेको भन्दै आपित्त जनाएका छन । माओवादीका नेताहरूले नै रूखमा मत दिएको भन्दै उनले आक्रोश पोखेका छन । उनले भनेका छन, ‘दुई चैते कम्रेड पार्टी भित्र पसेर एउटा सिङ्गो इतिहासको अन्त्य गराउने प्रयत्न गर्यो। अन्तिम सास रहेसम्म लडिरहने छौँ ।’

माओवादीको पनि केही मत ६ छाप हशियाँ हथौँडा र १ छाप रूखमा परेको भेटिएको बताइएको छ । माओवादी पनि मतक्रस भएको पाइएपछि तीब्र असन्तुष्टि देखिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १९:४३