११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

लुम्बिनी भ्रमणमा आउनु अघिल्लो दिन भारतीय प्रधानमन्त्री मोदीले के भने ?

१ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोली सोमबार लुम्बिीन आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर सोमबार नै स्वदेश फर्कने छन् ।

‘नेपालसँग हाम्रो सम्बन्ध अद्धितीय छ । भारत र नेपालबीच सभ्यता तथा जनताहरुबीचको आपसी सम्पर्कले दुई देशको घनिष्ट सम्बन्धलाई स्थायित्व प्रदान गरेको छ,’ नेपाल आउनु अघिल्लो दिन उनले एक वत्तव्य जारी गर्दै भनेका छन्, ‘मेरो यात्राको उदेश्य समयसँगै मजबुत भएको यस सम्बन्धको उत्सव मनाउनु र यसलाई अझ प्रगाढ बनाउनु रहेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् ।

‘म बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरमा पुजा-अर्चना गर्नको लागि उत्सुक छु । लाखौं भारतीयले जस्तै भगवान बुद्धको पवित्र जन्मस्थलमा श्रद्धा अर्पण गर्ने अवसर पाउँदा सम्मानित महसूस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।

वत्तव्यमा उनले गत महिना प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणको पनि स्मरण गरेका छन् । प्रधानमन्त्री देउवासँग भेट्न आफू उत्सुक रहेको उनले जनाएका छन् । जलविद्युत, विकास र कनेक्टिभिटी लगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने कार्यलाई निरन्तरता दिने उनले बताएका छन् ।

‘पवित्र मायादेवी मन्दिरको यात्राको अलवा म लुम्बिनी क्षेत्रमा निर्माण हुने ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’ को शिलान्यास समारोहमा पनि सहभागी हुनेछु,’ मोदीले भनेका छन् । भारतीय प्रधानमन्त्री मोदी सोमबार विहान ११ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी सोमबार बेलुकी ५ बजे स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : May 15, 2022 at 5:22 pm