महिलाले कमाण्ड गरिरहेको मतदान केन्द्र
२९ वैशाख, गोरखा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ । गोरखा नगरपालिका-६ स्थित बालमन्दिर मावि छहरेको मतदान केन्द्र नमुनाको रूपमा महिला कर्मचारीबाट मात्रै सञ्चालन गरिने निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबीलाल सुवेदीले जानकारी दिए ।
उक्त मतदान केन्द्रमा ९ सय ८० जना मतदाता रहेका छन् । त्यहाँ मतदान अधिकृतदेखि सुरक्षाकर्मी सबै कर्मचारी महिला मात्रै रहनेछन् । उक्त मतदान केन्द्रमा ५ जना महिला कर्मचारी खटाइएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुंगाना मतदान अधिकृत र गोरखा नगरपालिकाकी अधिकृत जनुका कुँवर सहायक मतदान अधिकृतको रूपमा छन् ।
यस्तै, जिल्ला अदालतकी नायब सुब्बा सुष्मा अधिकारी, जिल्ल प्रशासन कार्यालयकी नायब सुब्बा सिर्जना श्रेष्ठ र जिल्ला अदालतकी कालिका वली पनि सोही मतदान केन्द्रमा खटिने भएका छन् ।
सुरक्षाकर्मीका लागि उक्त मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षक सिर्जनाकुमारी सेनको नेतृत्वमा आठ जना महिला प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जसमा तीन जना नेपाल प्रहरी र पाँच जना म्यादी प्रहरी रहेका छन् । महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान केन्द्रको यो अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने मतदान अधिकृत ढुंगानाको तर्क छ
प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार १७:२६