४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वैदेशिक श्रमकोलागी स्वीकृति संख्यामा तिव्र वृद्धि


काठमाडौं, २८ वैशाख । कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख ५६ हजार ३१ पुगेको छ ।

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उनीहरुले अन्तिम श्रम स्वीकृति लिएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चैत महिनासम्म १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १६:२५