१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज

२३ वैशाख, अर्घाखाँची । अर्घाखाँची जिल्लामा पन्चायतकालदेखी नै राजनीतिमा सक्रिय भई पटक-पटक प्रधानपञ्च भइसकेका व्यक्ति हुन् बेदराज घिमिरे । अर्घाखाँची जिल्लाको मैदान गाउँ पन्चायतको २०२४ सालदेखि २०४६ सालसम्म अविछिन्न नेतृत्व गरेका घिमिरे अहिले पनि चुनावी मैदानमा छन् । उनी गाउँपालिका उपाध्यक्षको प्रत्याशी बनेका हुन् । घिमिरे स्थानीय तहको निर्वाचन २०७९ को चुनावी मैदानमा रहेका अर्घाखाँचीका सबैभन्दा पाका उम्मेदवार हुन् ।

जीवनको उत्तरार्द्धमा पनि जोस जाँगर उत्तिकै छ उनीमा । घिमिरेका पहिलेका सपना र अहिलेका सपना भने निकै फरक छन् । तिनै सपनाको भारी बोकेर ७९ वर्षको उमेरमा पनि उनी सक्रिय छन् । ‘उतिवेला बेग्लै योजना हुन्थे,’ घिमिरे भन्छन्, ‘तर अहिले सपना बदलिएका छन् । राजतन्त्र फर्काउनुछ, हिन्दुराज्य स्थापना गर्नु छ ।’

गाउँपालिकाको उपाध्यक्ष बनेपछि राजतन्त्र फर्किएला ? भन्ने प्रश्नमा घिमिरेले भने, ‘निर्वाचित भएपछि मैले समुन्नत गाउँपालिका बनाउँछु अनि देशभर जितेपछि राप्रपाको नेतृत्वमा राजतन्त्र फर्किनेछ ।’ घिमिरेले राजतन्त्र फर्काउन, हिन्दु राज्य स्थापना गर्न र संघीयताको खारेज गर्नका लागि आफू सक्रिय राजनीतिमा रहेको बताए ।

‘कृषिको व्यवसायीक विकास गरी गाउँमै आत्मनिर्भर बन्ने अवस्था बनाउँछु,’ घिमिरेले भने, ‘शिक्षा तथा स्वास्थ्यमा आमूल परिवर्तन ल्याउनुछ, जुन काम मैले मात्रै गर्न सक्छु ।’ ठूला भनिएका दलहरू देश लुट्नमात्रै सक्रिय रहेको नेता घिमिरेको दाबी रहेको थियो ।

राप्रपाका नेता समेत रहेका घिमिरेले गाउँपालिका उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘म राप्रपाकै कार्यकर्ता हुँ,’ घिमिरेले भने, ‘अध्यक्ष र उपाध्यक्षमा राप्रपाबाट दुवैजना पुरुष उम्मेदवार भएका कारण मैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको हुँ ।’ घिमिरेले चुनाव चिन्ह पुतली प्राप्त गरेका छन् ।

प्रकाशित मिति : May 6, 2022 at 5:44 pm