१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेः अध्यक्ष प्रचण्ड

२३ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरुले कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन् । आज पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले उक्त कार्यको आफूले विरोध गर्ने समेत बताए ।

‘कसैलाई छोरीको रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमताको अवमूल्यन गर्ने कोषिस एकथरी मानिसहरुले गरेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘म त्यो प्रवृतिको ह्दयदेखि विरोध गर्न चाहन्ँछु ।’

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष प्रचण्डको छोरी रेणु दाहाल र काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहकी श्रीमती सिर्जना सिंहले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । केही नेताहरुले उनीहरुको विषयमा आलोचना गरेपछि प्रचण्डले आज त्यसको विरोध गरेका हुन् ।

‘हिजो युद्धको बेलामा, शान्तिको बेलामा ,संविधान निर्माणको बेलामा महिलालाई कसरी राष्ट्रको पक्षमा सदुपयोग गर्ने भनेर संविधानमा एउटा मूलभुत व्यवस्था गरिएको थियो, तर व्यवहारमा लागु गर्ने त्रममा कहिँ न कहिँ चुकिरहेका थियौं । अहिले यो प्रक्रिया अघि बढेको छ । म खुसी व्यक्त गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भने ।

काठमाडौंको महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई विजयी गराउनु भनेको साच्चै परिवर्तनलाई विजयी गराउनु रहेको दाबी उनले गरे । ‘अहिले जहाँ जहाँ महिला कार्यकारी भूमिका छन् त्यहाँ राम्रो काम भएको छ । महिलाहरु माथि विश्वास गर्ने देशकै आवश्यकता हो,’ उनले भने ।

प्रकाशित मिति : May 6, 2022 at 5:28 pm