२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह


२२ वैशाख, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गरेका छन । बिहीबार सप्तरीको राजविराजमा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री खाणले आम नागरिक र राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय लाग्नुपर्ने बताएका उनको निजी सचिवालयले जनाएको छ । “आवधिक निर्वाचन लोकतन्त्रमा अपरिहार्य हो । म अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दललाई यो निर्वाचनमा भाग लिएर नागरिकको सशक्तिकरण र विकास निर्माणको कार्यमा सहभागी हुन आग्रह गर्छु’’, गृहमन्त्री खाणले भने, “निर्वाचनमा सबैको सहभागिताका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले वातावरण निर्माण गर्नुपर्छ ।’’

गृहमन्त्री खाणले सरकार स्थानीय तह निर्वाचन शान्ति पूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । सीमित स्रोतसाधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंशायोग्य रहेको भन्दै गृहमन्त्री खाणले आगामी दिनमा पनि यो भन्दा राम्रो व्यवस्थापन स्थानीय प्रशासन र सुरक्षा निकायले निर्वाचनका सन्दर्भमा गर्नेमा आफू आशावादी रहेको बताए। सुरक्षा गोष्ठीका सहभागीले निर्वाचनको तयारी चुस्तदुरुस्त रूपमा आफूहरूले गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १८:४६