२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न निर्देशन


२२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ । आयोगले आज एक विज्ञिप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाई सम्पन्न भएको छ । वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीहरूलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न आयोगले आदेश दिएको छ ।

उपर्युक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ ।

साथै, मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १७:१४

https://srdb.com.np/