स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न आयोगकाे निर्देशन
२० वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ ।आयोगले मंगलबार विज्ञप्ति जारी गरेर निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो ।
उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई आयोगले निर्देशन समेत दिएको छ ।
उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने, यसरी तोकिएका पदाधिकारीको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने आयोगले विज्ञप्तिमा भनेकाे छ ।

यसैगरि राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नु पर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने आयोगले जनाएकाे छ ।
यस्तै खर्चको बिवरण तथा बिल भरपाई राख्नु पर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने आयोगकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रकाशित मिति : May 3, 2022 at 9:20 pm









