माओवादीका आधिकारिक र बागी उम्मेदवार पक्षबीच झडपः ६ जना घाइते, तीनकाे अवस्था गम्भीर
२० वैशाख, रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप हुँदा ६ जना घाइते भएका छन् । रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका–१ मा मंगलबार बिहान माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा चेतन केसी, जीवन पुन, टिकाजंग मल्ल, धर्मेन्द्र सुनार, बलबहादुर पुन र यमबहादुर पुन रहेका छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टिकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते तीन जनालाई नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएकाे छ ।
सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । उनि माओवादी केन्द्रका त्रिवेणी गाउँपालिका उपाध्यक्षसमेत थिए । बागी उम्मेदवारी दिएका कारण पार्टीले उनलाई ६ महिनाको लागि निलम्बन गरिसकेको छ । तर सुन्दरले भने यो झडपमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् ।
प्रकाशित मिति : May 3, 2022 at 6:33 pm









