१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्राध्यापकहरूको अनुसन्धानः ५० प्रतिशत बढी स्थानीय तहमा एमालेको जित सुनिश्चत

१७ वैशाख, काठमाडाैँ । नेकपा एमाले स्थायी समिति सदस्य एवं शिक्षा तथा मानव स्रोत विभागका इन्चार्ज गुरु बरालले स्थानीय निर्वाचनमा देशभरी एमालेका पक्षमा जनलहर बढेको बताएका छन । नेपाल प्रगतिशील प्राध्यापक संगठनले आयोजना गरेको स्थानीय निर्वाचनमा प्राध्यापकहरुको भूमिका विषयक कार्यक्रममा नेता बरालले उक्त धारणा राखेका हुन ।

नेता बरालले प्राध्यापकहरु समाजको सचेत वर्ग भएको हुँदा– तथ्यको आधारमा विषयहरुको यथार्थ पक्ष उजागर गर्नुपर्नेमा जोड दिए । उनले नेकपा एमाले सुशासन, समृद्धि, राष्ट्रियता, सामाजिक सुरक्षा र विकास लागि सही नीति लिएको र सरकारमा रहँदा त्यहीअनुरुप काम गरेर देखाएको बताए ।

एमाले नेता गुरू बराल ।

“एमाले सरकारमा रहँदा भौतिक पूर्वाधार, सुशासन, संविधानको कार्यान्वयन, संघीयताको संस्थापना, सामाजिक सुरक्षाको क्षेत्रमा उल्लेखनीय काम भएको छ”नेता बरालले भने । साथै नेता बरालले परमादेश बलमा बनेको गठबन्धन जुइनो स्थानीय निर्वाचनसम्म आइपुग्दा खण्डित भैसकेकोले निर्वाचनपछि यसमा संकट आउने दाबी गरे ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसीले नेकपा एमाले देश, जनता र विकासको सवालमा ठीक नीति अवलम्बन गरेकाले जनआकर्षण एमालेका पक्षमा बढदै गएको बताए । अध्यक्ष डा. केसीले आगामी दिन पनि संगठनले शैक्षिक सवालहरुमा प्राध्यापक र बुद्धिजीवीहरुबीच अन्तरक्रियाको श्रृंखला बढाउदै लैजाने बताए ।

सो अवसरमा संगठनका सचिवहरु क्रमशः होमबहादुर बस्नेतले प्रदेश नं. १, किशोरकुमार शाहले मधेश प्रदेश, देवराज अर्यालले वागमती प्रदेश, कृष्ण अधिकारीले गण्डकी प्रदेश, दिनेश पन्थीले लुम्विनी प्रदेश, तेजविक्रम बस्नेतले कर्णाली प्रदेश र मानवहादुर जोराले सुदुर पश्चिम प्रदेशको निर्वाचन स्थितिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अनुसन्धानको आधारमा तयार पारिएको उक्त प्रस्तुतिअनुसार स्थानीय निर्वाचनमा नेकपा एमालेको स्थिति अग्रस्थानमा रहेको विवरण उल्लेख गरिएको छ । प्रस्तुत तथ्यांकले फेरि पनि एमाले पहिलो शक्ति बन्ने देखिएको छ । तथ्यांकमा बागमती प्रदेशमा एमालेले स्थानीय तहका प्रमुख पदमै ६० प्रतिशत विजय हाँसिल गर्ने र प्रदेश नम्बर १ मा ६५ प्रतिशत भन्दा बढीमा विजय प्राप्त गर्ने उल्लेख छ ।

गण्डकी र लुम्बिनमाी पनि एमालेले ५५ प्रतिशत भन्दा स्थानीय तहमा विजय प्राप्त गर्ने तथ्यांक प्रस्तुत भएको छ । त्यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि एमाले एक्लैले ४५ प्रतिशत भन्दा बढी सिटमा विजय प्राप्त हुने अुनसन्धनबाट देखिएको छ । मधेश प्रदेशमा पनि एमालेले ५० प्रतिशत बढी स्थानीय तहमा विजय प्राप्त गर्ने तथ्यांक प्रस्तुत भएको छ । कार्यक्रमको संचलान नेपाल प्रगतिशील प्राध्यापक संगठनका महासचिव डा. पदमप्रसाद खतिवडाले गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १२:५५