२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

अछाममा कांग्रेसको आन्तरिक समस्या थप पेचिलो


१५ वैशाख, अछाम । स्थानिय निर्वाचनमा उम्मेदवारी दर्ता सॅगै अछाम जिल्लामा काँग्रेसको आन्तरिक समस्या पेचिलो बन्दै गएको छ । नेपाली कॅाग्रेस प्रदेश कमिटीले बितरण गरेको टिकटमा फेरबदल भइ आधिकारिक उम्मेदवारका बिरूद्ध बागी उम्मेदवारको लर्को लागेपछि आन्तरिक समस्या पेचिलो बनेको हो ।

जिल्लाको साफेबगर नगरपालिकामा मेयरका लागि नेपाली कॅाग्रेसका युवा नेता कृष्ण कॅुवरले टिकट प्राप्त गरेका थिए । प्रदेश अध्यक्ष बिरबहादुर बलायर प्रदेश महामंत्री मेघराज खड्काले कॅुवरलाई टिकट दिएर जिल्ला पठाएको कुँवर निकट एक नेताको दावी छ ।

तर, कॅाग्रेसको आन्तरिक राजनितीको शिकार बनेका कॅुवरले जिल्ला पुगेर आफूले प्राप्त गरेको टिकट समेत देखाउन पाएनन् । अछाम जिल्लाको राजनितीमा पूर्व पार्टी सभापति भरत कुमार स्वार र बर्तमान पार्टी सभापति पुष्प बहादुर शाहबिच शीत युद्ध चलिरहेको छ ।

स्वार र शाहको शीत युद्धको शिकार युवा नेता कृष्ण कॅुवर बने । सॅाफेबगर नगरपालिकामा स्वार निकट रहेका राजेन्द्र कॅुवरलाई मेयरको उम्मेदवारका रूपमा खडा गरियो । त्यस्तै जिल्लाको क्षेत्र नं २ को ढकारी गाउॅपालिकामा समेत पूर्व घोषित उम्मेदवारलाई पाखा लगाउॅदै रातारात स्वार निकट रहेका प्रकाश साउॅदले गाउॅपालिका प्रमुखको टिकट हात पारे ।

गाउॅपालिका अध्यक्ष रहेका धन बहादुर बुढालाई पार्टी सभापति पुष्प बहादुर शाहको समूहले गाउॅपालिका प्रमुखका रूपमा दोहऱ्याउने भन्दै प्रचार प्रशारमा जुट्न निर्देशन दिएको थियो । गाउॅ स्तरमा चुनाव प्रचार प्रशारमा रहेका बुढाको तेजोवध गर्न स्वार पक्षले पार्टीको जिल्ला तहमा रहेको संसदीय बोर्डमा मतदान गराएको थियो ।

संसदीय बोर्डमा बर्तमान पार्टी सभापतिका पक्षमा चार जनाले मतदान गरेका थिए भने पूर्व पार्टी सभापति भरत कुमार स्वारका पक्षमा सात जनाले मतदान गरेका थिए । संसदीय बोर्ड मार्फत टिकटबाट बन्चित गरेपछि क्रुद्ध बनेका बुढाले ढकारी गाउॅपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्नेदवारी दर्ता गराएको बुढाको दर्ता नं १ रहेको छ ।

नेताहरूले आफ्नो मानमर्दन गरेको भन्दै बागी बनेका बुढाले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् । देउवा समुहमै रहेका नेताहरूमा तिक्तता बढेपछि तय भएका उम्मेदवारले प्राप्त गरेका टिकट सार्वजनिक गर्न पाएनन् । बास्तवमा पूर्व पार्टी सभापति भरत कुमार स्वार जिल्लाको बान्नीगढी जयगढ गाउॅपालिकामा आफू निकट रहेका राजेन्द्र खड्कालाई उम्मेदवार बनाउन चाहान्थे ।

तत्कालिन पालिका प्रमुख रहेका खड्काले सेटिंग गरेर पूर्व सभापति स्वारका भाई छोराको नाममा रहेको स्वार कन्सट्रक्शन नामक निर्माण कम्पनिलाई पन्ध्र शैय्या क्षमता रहेको करिव दश करोड बरावरको अस्पताल निर्माणको जिम्मा दिएको आरोप समेत लाग्दै आएको छ ।

उक्त कुरा थाह पाएको शाह समूह कुनै पनि हालतमा स्वारका प्रियपात्र राजेन्द्र खड्कालाई टिकट दिन तयार भएन् । बान्नीगढी जयगढ गाउॅपालिकामा शाह समूहका टेक बहादुर साउॅदले टिकट प्राप्त गरेपछि स्वार समूहले डम्वर बहादुर स्वारलाई बिद्रोही उम्मेदवारका रूपमा खडा गरेको छ ।

त्यस्तै जिल्ला सदरमुकाम समेत रहेको मंगलसैन नगरपालिकामा स्वार समूहका चन्द्र प्रसाद ढॅुगाना मेयरका प्रमुख दावेदार थिए । गत निर्वाचनमा नेकपा (एमाले) का पदम बोहरासॅग झिनो मतान्तरले पराजित बनेका ढॅुगाना यो पटक उम्मेदवार बन्न समेत पाएनन । पार्टी सभापति पुष्प बहादुर शाहले आफ्नो निकट नातेदार रहेका निर्माण ब्यवशायि नम बहादुर शाहलाई टिकट दिएपछि ढॅुगाना बिक्षिप्त बनेका छन् ।

गत निर्वाचनमा ढॅुगानाको हारको कारण पुष्प शाह समूहको असहयोग थियो भन्नेमा ढॅुगाना प्रष्ट रहेको स्रोतको दावी छ । त्यस्तै मंगलसैनमा उप मेयरमा प्रदेश कमिटीले लक्ष्मी बोगटीलाई टिकट दिएको कांग्रेसकै एक नेताले भनाई छ । तिँ कांग्रेस नेताको भनाईमा पार्टी सभापति पुष्प बहादुर शाह लक्ष्मी बोगटीलाई पन्छाउन अन्तिममा समाजबादीसॅग तालमेल गर्ने भन्दै उपमेयरमा समाजवादीका बम रावललाई स्वीकार गर्न राजि भएका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १४:०५