८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

बद्री मैनालीलाई एमालेको भन्दा हाइड्रोको माया, दुप्चेश्वरमा एमालेका कसैले उम्मेदवारी नदिने


१२ वैशाख, नुवाकोट । नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले तादी खोलामा निर्माण गर्न खोजेको हिरारत्न हाइड्रोपवर जोगाउने नाममा दुप्चेश्वर गाउँपालिकाको टिकट वितरणमा लापरवाही गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले बिद्रोहको चेतावनी दिएका छन ।

गाउँपालिका कमिटीबाट सर्वसम्मत रूपमा राजकुमार पण्डितको नाम सिफारिस गरेको भए पनि अध्यक्ष मैनालीले सुरज शेर्पाको नाममा टिकट तयारगरेपछि दुप्चेश्वरको एमालेमा खैलाबैला भएको छ । एमालेको गाउँ कमिटीका उपलब्धहरूको बैठक बसेर नै गाउँपालिकाले सिफारिस गरेको नाममा टिकट नआएर बिद्रोह गर्ने चेतावनी दिएर माइन्युट नै गरेका छन । गाउँपालिका कमिटीले पण्डितको नाम एकल सिफारिस गरेको एमाले जिल्ला कमिटीका सदस्य समेत रहेका पालिकाका वडा अध्यक्ष किशोर आचार्यले जानकारी दिए ।

उनीहरूले गाउँपालिकाले गरेको सर्वसम्मत निर्णय तलमाथि गरेको खण्डमा कसैले पनि उम्मेदवारी नदिने निर्णय गरेको छ । पण्डितले कांग्रेस र माओवादीको न्यूट्रोल भोट ४०/४० प्रतिशत लिन सक्ने सर्वेक्षणसहित गाउँकमिटीले एमालेले चुनाव जित्ने ठहरसहित पण्डितको नाममा सिफारिस गरेको थियो । तर पाण्डितका बुबा नुवाकोटको कम्युनिस्ट आन्दोलनका अगुवा स्वर्गीय गणेश पण्डितले दुप्चेश्वरको संरक्षण हुनेगरी मात्र हाइड्रो पावर बनाउन अनुरोध गरेको र सोही अनुसार अभियान चलाएका कारण राजकुमारमाथि मैनालीले पूर्वग्रह राखेको दुप्चेश्वरका एक एमाले नेताले बताए ।

एमाले जिल्ला कमिटीका उपसचिव निलकण्ठ आचार्यले मतदान गर्ने पालिका समेत दुप्चेश्वर नै भएपनि उनले पनि पार्टीको संस्थागत हितका लागि नबोलेको नेताहरूले बताएका छन । उपसचिव आचार्य अध्यक्ष मैनालीको रबर स्टाम्प बनेको भन्दै कार्यकर्ताले आलोचना गरिरहेका छन । युवा भएका कारणले पार्टीको संस्थागत हित र कमिटीको निर्णयको पक्षमा आवाज उठाउँछन भन्ने आम अपेक्षा विपरित उल्टै अध्यक्ष मैनालीको पक्षपोषण गरेको आरोप लागेको छ ।

करिब ९ वर्षदेखि मैनालीको हिरारत्न हाइड्रो पावरले विवादित रूपमा काम अघि बढाउने खोजेपनि सकेको छैन् । यद्यपी पछिल्लो समय उनले व्यक्तिहरू च्यापेर स्थानीयको आन्दोलन कमजोर बनाउन खोजेका छन । त्यसैका लागि उनले पण्डितको नाम काटेर शेर्पाका लागि टिकट तयार गरेको स्रोतले जनाएको छ ।

दोस्रो पशुपतिको उपमा पाएको दुप्चेश्वर मन्दिरको तलभएर बग्ने तादी नदी मन्त्रिदर भन्दा माथि नै थुनेर मैनालीले हाइड्रो बनाउने कोशिश गरिरहेका छन । मैनालीले थहा नै नपाउने गरी एमाले नेता एवं सोही स्थानका स्थानीय बलराम आचार्यको पहलमा तत्कालीन एमाले सरकारले मन्दिरको गुरूयोजना अनुसार काम गर्न पाँच करोड रूपैयाँ बजेट बिनयोजन गरेको थियो ।

टिकट पुनर्विचार गर्न छलफल 

गाउँकमिटीका सबैले उम्मेदवारी समेत नदिने निर्णय नै गरेपछि एमालेले गाउँकमिटीको सर्वसम्मत निर्णय मान्ने वा तेस्रो विकल्पमा जाने भनेर छलफल चलाएको छ । अहिले पनि एमाले नुवाकोटका नेताहरू बागमती प्रदेश कमिटीका नेताहरूसँग छलफल गरिरहेका छन । एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज बलराम आचार्यले विभिन्न विकल्पमा छलफल भैरहेको र गाउँकमिटीको निर्णय लत्याइए इतिहासले कहिल्यै क्षमा नदिने बताए । उनले केही मसय अझै बाँकी रहेकाले दुप्चेश्वरमा एमाले जित्नेगरी नयाँ निर्णय हुन सक्ने संकेत पनि गरे ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १०:१५