हरिबोल र राजनको जुँगाको लडाँइले सिन्धुलीमै लोपोन्मुख हुने अवस्थमा माओवादी
९ वैशाख, सिन्धुली । माओवादी जिल्ला इन्चार्ज तथा प्रभावशाली नेता राजन दाहाल जिल्लामा हरिबोल गजुरेलको अस्तित्व समाप्त पार्न चाहन्छ । त्यसो त गजुरेल स्वयम पनि राजन दाहालका कारण आफू केन्द्रिय नेता भएपनि जिल्लामा कुनै अस्थित्व नभएकाले राजन दाहाललाई साइड लगाउन अनेकौ प्रयास गर्छन तर गजुरेलको बुढो दिमागले खासै ठूलो रणनिति बनाउन सकेको छैन जति संगठित र आक्रामक ढंगले दाहाल अगाडि आईरहेका छन् । अहिले दाहाल गजुरेलको राजनीतिक दाउपेचको शिकार माओवादीको स्थानीय तह निर्वाचनमा उमेदबारहरुले पनि भोग्नु पर्ने प्रष्ट देखिएको छ । जसको बाछिटाहरु मरिण गाउँपालिकाबाट दिनहु आईनै रहेका छन् ।
सिन्धुलीको माओवादी राजनीतिमा उचाइ लिदै गएका दाहाल हालिमुहालि गर्न चाहन्छन तर त्यसका लागि बाधक बनेका छन् माओवादी भित्रको पूर्व जनमोर्चा समूह । त्यसो त सिन्धुलीमा माओवादीको पकड नै पूर्व जनमोर्चाको कारण भएको हो र त्यो ग्रुपको नेतृत्व हरिबोल गजुरेलले गर्छन । गजुरेललाई कमजोर पार्न पूर्व जनमोर्चा कमजोर पार्नु पर्छ र त्यसका लागि जनमोर्चा भूमि मरिण क्षेत्रलाई विगार्नु पर्छ । अहिले दाहाल सिन्धुलीमा माओवादी पार्टीको अस्थित्व संकटमा पारेर आफू स्थापित हुने खेलमा छन् र पूर्व जनमोर्चालाई छानि छानि पाखा लगाउने महान अभियानमा सक्रिय छन् जसको पछिल्लो उदाहरण हो विहीबार दाहालको तोक आदेशमा वितरण भएको पालिकाहरुको टिकट र कांग्रेस सँग गरिएको गठबन्धनको सहमती ।
जसले जमोर्चाबाट आएका माओवादीहरुको आधार इलाकामा दाहालले हमला बोलेका छन् । मरिण र हरिहरपुरगढीमा पुरानालाई नदोहो¥याउने नयाँ लाई अवसर दिने निति लिएका दाहालले सुनकोशी गाउँपालिकामा भने आफ्नै श्रीमती दिपा बोहोरालाई भने दोहो¥याएका छन् । जव कि माअेवादी भित्र सबैभन्दा बढि किचलो र आलोचना सुनकोशीमै थियो र छ । दाहाल बुढाबुढीको हैकमबादी शैलिकै कारण सुनकोशीमा धेरै पुराना माओवादीहरु पार्टी छाडेर एमालेमा प्रवेश गरिसकेका छन् भने त्यो क्रम अहिले पनि जारि छ । यद्यपि दाहाल आफ्नी श्रीमतीलाई पदमा पु¥याउने कर्ममा कतिपनि विचलित भएनन् ।
टिकट वितरण पछि ९ गते शुक्रबार दाहालले मरिणमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरे त्यहा मरिण गाउँपालिका कमिटिका अध्यक्ष गोपाल बुढाथोकी उपस्थिति हुने कुरै भएन उनले विहिबार नै पार्टीबाट राजिनमा दिएर स्वतन्त्र नागरिकको हैसियतमा बस्ने भनि सकेका छन् । मरिण गाउँपालिकाका बर्तमान अध्यक्ष पानीराज बम्जन, पालिका अध्यक्षका आकांक्षि तथा जिल्ला अध्यक्ष रामकुमार पौडेल पनि त्यहा उपस्थिति भएनन् । यसको कारण हो । दाहालको हस्तक्षेपकारि र पार्टीलाई निजी कम्पनीको रुपमा सञ्चालन गर्ने शैलि । दाहालको यो शैलिले जिल्लामा माओवादीहरु चरम संकटको अवस्थामा पुगेको देखिन्छ ।
नेता गजुरेलको नेतृत्व नेकपा विभाजन हुदा टोप बहादुर रायमाझीले एमालेमै लाग्न दिएको सुझाव र गरेको पहल अस्विकार गर्नु गल्ती भएको महसुस पनि भईरहेको होला अहिले । गजुरेल मार्फत सिन्धुलीका नेता कार्यकर्ता मनाउन त्यो बेला रायमाझी एक दिन मरिण गाउँपालिकामै बसेका थिए । मरिण गाउँपालिका अध्यक्ष बम्जन र हरिहरपुर गढीका कार्साङ लामाले अस्विकार गरेकै कारण मन्त्री पद सहित एमालेमा जान लागेका गजुरेल त्यति बेला माओवादीमा अडिएका थिए । तर अहिले पुन एमालेमै नगई नहुने अवस्थामा यो समूहलाई दाहालले वाध्य बानाई सकेका छन् ।
हरिबोल गजुरेल केन्द्रीय नेता भएकाले पार्टी अध्यक्ष प्रचण्डको सचिवालय कमजोर भएको भन्दै गतिलो व्यक्ति प्रचण्डको सचिवालयमा आवश्यक रहेको भनेर सिन्धुलीका नेता राजन दाहाललाई काठमाण्डौ पठाउन चाहन्थे । यसो गर्दा जिल्लाको राजनीतिमा आफ्नो एकछत्र राज हुने गजुरेलको बुझाई थियो । केन्द्रिय राजनीतिमा हावि भएपनि भुगोल नभएका नेताको अस्थीत्व संकटमा परेको देखेका दाहालले गजुरेलको रणनिति बुझे र प्रचण्डको सचिवालयमा जान अस्विकार गरे बरु गजुरेललाई कमजोर पार्न निरन्तर प्रहार गरिरहे ।
जसको पछिल्लो उदाहरण हो दाहालकै विशेष आग्रहमा भरखरै खुलेको ग्यालेक्सी फोर के टेलिभिजनमा गजुरेलले सञ्चालन गरेको सिन्धुलीको कृषि फर्मको बारेमा समाचार बज्नु । उक्त समाचार सिन्धुली स्थिति जिल्ला समाचारदाताले तयार पारेको भएपनि त्यसमा ग्यालेक्सीको केन्द्रिय टिमको धेरै चासो थियो र प्रदेश व्यूरोले समेत हेटौडा बाट नै गजुरेलले लिएको अनुदान सम्बन्धी डाटाहरु तयार पारेको थियो । यो काम गर्न दाहालले माओवादीको केन्द्रिय नेतृत्वको सहयोग लिएका थिए । नेता गजुरेल ग्यालेक्सीको त्यो रिपोर्ट बजेपछि जिल्लामा अझ कमजोर अवस्थामा पुगेका छन् ।
गजुरेललाई अझ कमजोर पार्ने अर्को अस्त्र स्थानीय चुनाव बन्ने भएको छ । आफ्नो अस्थित्व रक्षा र चुनावि मत संरक्षणका लागि अघिल्लो स्थानीय तह निर्वाचनमा आफ्नै श्रीमतीलाई कमलामाई नगरको मेयर उमेदबार बनाएका गजुरेलले यो पटक त्यो अवसर पाउने छैनन । गजुरेलको संसदीय चुनाव क्षेत्रमा पर्ने कमलामाई नगरपालिका नै नेपाली कांग्रेसलाई गठबन्धनको नाममा जिम्मा लगाएर आफ्नो निर्वाचन क्षेत्रको दुधौली नगरपालिका लिने गरि गठबन्धन गर्न तम्सीएका जिल्ला इन्चार्ज दाहालले गजुरेलको प्रभाव क्षेत्र मरिण क्षेत्रमा समेत आफ्नो पकड बडाउने गरि उमेदबारलाई अगाडि सारेका छन् ।
गजुरेलका विश्वास पात्र तथा पूर्व जनमोर्चालाई दिनुपर्ने मरिण क्षेत्रमा पूर्व माओवादीका आफ्ना विश्वा पात्र प्रख्यात मुक्तानलाई पालिका अध्यक्षमा अगाडि सारेर दाहालले मरिण क्षेत्रमा पनि विवाद निकालिदिएका छन् । प्रख्यातलाई पालिका अध्यक्ष उमेदबार बनाउने भएपछि पूर्व जनमोर्चा समूह मरिणमा रुष्ट भएको छ र धेरैले पार्टी छाड्न थालेका छन् । उमेदबार टुङ्गो लगाएपछि मओवादीको मरिण गाउँपालिका अध्यक्ष समेत रहेका गोपाल बुढाथोकीले गाउँपालिका कमिटिको अध्यक्ष पदबाट विहिबार नै राजीनामा दिएको सामाजिक सञ्जाल मार्फत लेखि सकेका छन् ।
पालिका अध्यक्ष हुनकै लागि भूमि आयोगको जिल्ला अध्यक्षबाट राजिनामा दिएका नेता रामकुमार पौडेल, अहिलेका पालिका अध्यक्ष पानीराज बम्जन लगायत पनि प्रख्यातलाई पालिका अध्यक्ष बनाउने जिल्ला इन्चार्ज राजन दाहालको हस्तक्षेपकारी निर्णयका कारण रुष्ट बनेका छन् । उनिहरुकै निर्देशनमा गाउँपालिका कमिटिका उपाध्यक्ष चिनध्वज बम्जन सहित ६७ जनाले समुहिक राजिनामा दिएका छन् । मरिणको वडा नंं ६ माओवादीबाट नै विद्रोह गरेर आएका शम्भु कार्की एमालेको उमेदबार बनिसकेका छन् भने वडा नं. ७ मा पनि खिलहरी गिरिले माओवादी परित्याग गरेको विज्ञप्ती निकालेका छन् । मरिणका अन्य वडाहरुमा पनि स्वतन्त्र उमेदबार उठ्ने देखि पाटि परित्याग गर्ने सम्मका घटनाहरु भईरहेका छन् र यो क्रम बैशाख १२ गते सम्म जारि रहने देखिन्छ ।
हरिहरपुरगढी गाउँपालिकामा पनि बर्तमान अध्यक्ष कार्साङ लामा नै अब्बल भएपनि उनलाई पनि टिकट नदिने मओवादी निर्णयले त्यहा पनि असन्तुष्टि सुरु भएको छ । मरिण क्षेत्रको यो विवाद र कमलामाईमा माओवादीको मेयर उमेदबार नै नहुने स्थितिको सृजनाले आगामी संसदिय निर्वाचनमा गजुरेलले टिकट पाएपनि हार्ने निश्चित हुने छ । गजुरेलले चुनाव हारेपछि मात्रै आफू जिल्लामा थप हावि हुन पाईने दाहालको योजना रहेको छ । सिन्धुलीका दुई निर्वाचन क्षेत्र मध्य दाहाल आफ्नो घर समेत भएको सुनकोशी गाउँपालिका समेत रहेको क्षेत्र नं. २ बाट चुनाव लड्न चाहन्थे तर गजुरेलकै कारण उनि क्षेत्र नं. १ जानु परिरहेको छ र उनले दोस्रो संविधानसभा निर्वाचनमा हार समेत व्यहोर्नु परो ।
प्रदेश सभा निर्वाचनमा एमाले समेतको मत पाएर जितेका दाहालाई माओवादी एक्लै हुदा सांसद जित्न मुश्किल छ । क्षेत्र नं. १ मा संघिय सांसद जित्न कमजोर अवस्थामा रहेका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकाका कारण नसकिने, प्रदेश सांसद जित्ने दुधौली नगर बाहेकका कमलामाई नगरका ९, १३ र १४ मा माओवादी कमजोर भएका कारण असम्भव हुने, मरिण क्षेत्रको प्रदेश सांसद त्यहीबाट जातिय मत प्राप्त गर्ने उमेदबार चाहिने र आफु मरिण क्षेत्र जानु अत्यन्तै अनुपयुक्त हुने भएकाले बोल्नै नसक्ने क्षेत्र नं. २ मा गजुरेललाई छाड्नै पर्ने भएकाले आफ्नो गतिलो निर्वाचन क्षेत्र नै नभएका दाहाल गजुरेललाई कमजोर बनाएर मरिण क्षेत्रमा पूर्व जनमोर्चाको प्रभाव घटाउदै क्षेत्र नं. २ को भुगोलबाट गजुरेललाई हटाउन चाहान्छन् । अहिले माओवादी भित्रको असन्तुष्टि र खिचडी सबै दाहालको सुरक्षित निर्वाचन क्षेत्रको खोजिको श्रृखला हो । यसले गजुरेललाई मात्र क्षति पुग्छ या सिङ्गो मओवादीलाई त्यो विस्तारै देखिदै जाने विषय हो । तर अहिले भने पूर्व जनमोर्चाले धानेको सिन्धुलीको माओवादीको अथित्व भने राजन दाहालको व्यक्तिबादी शैलिका कारण एक चरण ध्वस्त हुने चरणमा धेरै नै अगाडी बढि सकेको छ ।
प्रकाशित मिति : April 23, 2022 at 12:09 am









