११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

ग्लोबल आइएमई बैंकले कमायाे वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा

८ वैशाख, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ। बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकले ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २५ करोड ९ लाख रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ रहेको छ।

१० प्रतिशत बोनस वितरण गरेपछि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ८८ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.३५ गुणा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ६.१२ प्रतिशत बढेको छ। बैंकले चैत मसान्तसम्ममा २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब २० करोड ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०८:५१