२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

पाँच वर्षको उपलब्धिः ककनी गाउँपालिका अध्यक्ष लामा माओवादीभित्रै भारी मतले पराजित


७ वैशाख, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष मानवबहादुर लामा माओवादीभित्रै पराजित भएका छन । गाउँपालिकाको अध्यक्षमा विजयी भएर पनि जनताका लागि केही गर्न नसकेका लामा वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवार छनौट गर्न पालिका भित्रका कार्यकर्ताको बीचमा मतदान हुँदा भारी मतान्तरमा पराजित भएका हुन ।

यो पनि पढ्नुहोस्

माओवादी नेता एवं ककनी गाउँपालिकाका अध्यक्षले प्रश्न गर्नेमाथि लाती हाने (भिडियोसहित)

माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार तय गर्न आन्तरिक चुनाव गरेको थियो । उक्त चुनावमा गाउँपालिका अध्यक्ष लामाले निकै कम मत पाए । अध्यक्षको उम्मेदवार सिफारिस हुन सफल भएका सुमन तामाङले ३४ मत पाउँदा अध्यक्ष लामाले जम्मा १८ मत पाएका थिए भने अर्का एक प्रतिस्पर्धी शक्ति लामाले आफ्नै एकमतमात्र पाएका थिए । सल्लाहकारसहित कुल ६२ जनाले मत दिनपाउने भए पनि ५३ जनाले मात्र मत खसालेका थिए ।

ककनीमा माओवादीले चुनाव जितेपनि केही पनि काम नगरेको भन्दै माओवादीकै कार्यकर्ता असन्तुष्ट बनेका थिए । गाउँपालिका अध्यक्षले पदीय आचारण विपरित तीन वर्षदेखि आफ्नै घरमा गाउँपालिकाको कार्यालय राखेका छन । लामाले तीन वर्षअघि पासाङल्हामु राजमार्गका लागि बनेको शौचालय समेत सञ्चालन गर्न सकेनन् ।

ककनी र रानीपौवाको बीचमा तयार भएको शौचालय बनेको भए पनि सडक प्रयोगकर्ताले उपयोग गर्न पाएका छैनन् । निर्माण सम्पन्न भएको वर्षौसम्म पनि शौचालयमा ताला लगाएर राखिएको छ । केही महिनाअघि गाउँपालिका अध्यक्षले काम गरेनन् भनेर नागरिकले बिरोध गर्दा एक जना युवलाइ कार्यालयमै बोलाएर कुटेपछि लामाको थप आलोचना भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १३:४९