खनाललाई देउवाले भने गठबन्धन जोगाउन भरतपुर माओवादीलाई छाडेँ
६ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र चितवन कांग्रेसका सभापति राजेश्वर खनालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको विषयमा कुरा गर्न देउवाले खनाललाई बालुवाटार बोलाएका थिए ।
भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएको चितवन कांग्रेस सभापति खनालले जानकारी दिए । केन्द्रीय समितिको निर्णयलाई आफूले मान्ने तर कार्यकर्ताको भावना माओवादी केन्द्रलाई छाड्ने नरहेको आफूले देउवालाई बताएको खनालले जनाए ।
‘सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुर माओवादीलाई छाड्नु पर्ने अवस्था आएको कुरा उहाँले भन्नुभयो,’ उनले भने, ‘मैले चाँही कार्यकर्ताको भावना यस्तो छैन । मैले केन्द्रीय समितिको निर्णय मानौँला, कार्यकर्तालाई मनाउन मैले सक्दिन, तपाइँले नै मनाउनुस् भनेको छु ।’
देउवाले भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न खनाललाई आग्रह पनि गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु महानगरभन्दा भरतपुरनै सजिलो हुने बताएकाले भरतपुरनै छाड्ने निर्णयमा देउवा पुगेका छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रलाई सहयोग गरेको थियो । मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल विजयी भएकी थिइन् । त्यसपछि भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको थियो । तर, पाण्डे निर्वाचित हुन सकेनन् । वाम गठबन्धनका उम्मेदवार प्रचण्ड विजयी भएका थिए ।
प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १५:५८