२० कार्तिक २०८१, मंगलवार | Tue Nov 5 2024

माधव नेपाल भन्छन, हामी अपमान सहन जन्मिएका होईनौँ, अब बिद्रोह हुन्छ

६ वैशाख, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न जिल्लाबाट समाजवादीलाई अपमान गर्ने काम भइरहेको बताए ।

‘कतिपय ठाउँमा अरूको शक्तिको अवमूल्यन गर्दै अलि अपमानपूर्ण व्यवहार भएकाे छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ नेपालले भने, ‘हामी अपमान सहनका लागि जन्मिएका होईनौं । अपमानको विरूद्धमा विद्रोह गर्दै जन्मिएका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थमा विश्वास छ ।’

सबै दलभित्र उम्मेदवार बन्न तानातान भइरहेको भन्दै चुनावमा पराजित हुने स्थिति भएकाहरूले समेत गजबले जित्छु भन्दै घुर्की लगाइरहेको बताए । समाजवादीले अरूले भनेको आधारमा नभएर त्यहाँको वस्तुस्थितिको राम्रोसँग अध्ययन गरेर उम्मेदवार छनोट गर्ने उनले बताए ।

‘त्यहाँको कमिटीले जनताको भावनालाई बुझेर अनि पार्टीको प्रभावलाई ध्यानमा राखेर, व्यक्तित्वलाई ध्यानमा राखेर, यसले पुर्‍याएको योगदानलाई ख्याल गरी, उसको लोकप्रियताको पनि ध्यान दिएर मात्रै अघि बढ्नु पर्छ ।’ नेपालले भने ।

पाँच दलभित्र जतिमा सहमति हुन्छ त्यही सहमतिको आधारमा र नभएको खण्डमा मित्रताको आधारमा स्वस्थ प्रतिस्पर्धामा जाने बताए । ‘जति सहमति हुन्छ त्यही आधारमा जान्छौँ । हामीले सहमति गरिसकेका छौँ की पाँच दलकोबाहेक अरु दलहरूसँग सहमति नगर्ने । पाँच दलभित्र नै गर्ने । सहमति हुन सकेन भने मित्रताको आधारमा स्वस्थ्य प्रतिस्पर्धामा जाने भन्ने टुंगो लगाएका छौँ ।’ अध्यक्ष नेपालले भने ।

समाजवादीको घोषणापत्रको विशेषता यस्तो रहेकाे छ । 

–विद्यालय र बालबालिका शान्ति क्षेत्रको घोषणा
–निशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा
–प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने
–किसानको लगानी सुनिश्चितता गर्ने कार्यक्रम अघि सारेको
–हरेक पालिकामा महिला, युवा र श्रमिक विभाग हुने
–हरेक पालिकामा पुस्तकालय बनाउने
–प्रत्येक घर घरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने
–भ्रष्टाचार निर्मुल पार्ने
–घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ
–काठमाडौं–नीजगढ द्रुत मार्गको सुरुवात
–स्थानीय तहमा महिला र दलितको उपस्थिति
–नेपालमा सुरुङमार्गको सुरुवात
–जनता आवास कार्यक्रमको सुरुवात

–पुष्पलाल लोकमार्गको सुरुवात

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १५:४४