हेटाैँडा उपमहानगरपालिकामा कांग्रेस एक्लै चुनाव लड्ने
६ वैशाख, हेटाैँडा । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागमती प्रदेशको एकमात्र उपमहानगरपालिकाको रुपमा रहेको हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले गठवन्धनबाट निर्वाचन भाग नलिने निर्णय गरेको छ ।
आज नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको हेटौँडा उपमहानगरपालिकाको पदाधिकारी तथा १९ वटै सभापतिको बैठकले नेपाली कांग्रेसले मेयर नपाएको अवस्थामा गठवन्धनबाट अलग रहेर निर्वाचनमा भाग लिने निर्णय गरेको नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका समितिका उपसभापति रामकृष्ण कोइरालाले जानकारी दिए ।
बैठकको निर्णयबारे कांग्रेस हेटौँडाका सचिव सविन न्यौपाने भन्छन् ‘ आज हाम्रो पदाधिकारी तथा १९ वडाकै सभापतिको बैठक बस्यो, बैठकले मेयर तथा बहुमत वडाध्यक्षहरु नपाएको अवस्थामा गठवन्धनबाट बाहिरिने र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।’
पाँच दलीय गठवन्धनको केन्द्रीय बैठकले हेटौँडाको मेयर नेकपा एकिकृत (समाजवादी)लाई दिने औपचारिक प्रस्ताव गरेपछि आज हेटौँडा उपमहानगर समितिले यस्तो निर्णय गरेको हो । पार्टी कार्यालयमा बैठक भैरहँदा कार्यकर्ताहरुले गठवन्धन तोडनको लागि नारावाजी गर्नुको साथै कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
प्रकाशित मिति : April 19, 2022 at 2:44 pm









