१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकोटका माधव पाण्डेले प्रचण्डलाई नाम बेचेका सबै युवा एमालेमै, यसरी जनाए बिरोध

-प्रशान्तजंग पाण्डे 

५ वैशाख, नुवाकोट । नेकपा एमालेका नेता माधव पाण्डेले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने समयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अघि वाचन गरेका नामका युवाहरूले आफूहरूको नाम बेचिएको भन्दै आपत्ति जनाएका छन । सोही दिन नेकपा एमाले नुवाकोटले आयोजना गरेको बृहद् जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा विदुरमा सहभागी भैरहेका युवाहरूको नाम पनि प्रचण्डका अघि वाचन गरिएको थियो ।

अझ छोटो समयमा भएका कारण धेरै आउन नपाएको भन्दै पाँच जनाको नाम वाचन गरिएको थियो । नाम बाचन भएका पाँच जना मध्ये एक जना माधव पाण्डे स्वयं रहेका थिए । अन्य चार जनाले आफूहरू एमालेमै रहेको र सो दिन पार्टीको कार्यक्रममा विदुरमा रहेको जानकारी दिएका छन ।

चार जनामध्येका एक युद्धप्रसाद पन्तले सामाजिक सञ्जाल मार्फत प्रचण्डका अघि लगेर आफूहरूको नाम बेचिएकोमा आपत्ति जनाए । उनीसहित प्रकाश पन्त, अर्जुन पाठक र उमेश पाठकले आफूहरूको नाम माधव पाण्डेले बेचेको भन्दै आपत्ति जनाएका छन । पन्तले आफ्नो फेसबुक वालमा लेखेका छन, ‘बैशाख २ मा म लगाएत अर्जुन पाठक प्रकाश पन्त उमेश पाठक र हामी सबै बटारमा पार्टीको जनसभा भएको बेला जुन तरिकाले नाम बेच्ने काम माधव पाण्डेबाट भयो । यसमा हाम्रो साथिभाईको घोर आपत्ति छ।’

पाण्डेलाई माओवादीले केन्द्रीय निर्वाचन समितिको सदस्य बनाएको बुझिएको छ । उनले एमालेका अन्य कार्यकर्तासँग भने आफूलाई एमालेले चिन्न नसके पनि केन्द्रीय सदस्य दिएको भन्दै माओवादी प्रवेश गर्न अनुरोध गरेका थिए । पाण्डेले एमाले जिल्ला अधिवेशनमा पदाधिकारी मागेका थिए तर उम्मेदवारी दर्ता गर्न फारम समेत नपाएपछि असन्तुष्ट बनेका थिए ।

पछि बेलकोटगढीको मेयरमा दाबी गरेका थिए तर एमालेले जित्ने उम्मेदवार खोज्दा वर्तमान मेयर राजेन्द्ररमण खनाललाई नै दोहोर्याउने भएपछि उनी थप विच्किएका थिए । यद्यपी पाण्डेले माओवादी प्रवेशका लागि करिब एक वर्षदेखि प्रयास र विभिन्न चरणमा कुरा गरेको उनी निकटकाहरूले बताएका छन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार २०:२६