१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

माओवादीले पोखरा महानगरमा गर्‍यो उम्मेदवार सिफारिस

५ वैशाख, पोखरा । नेकपा माओवादी केन्द्रले पोखरा महानगर प्रमुखका लागि प्रमुख र उपप्रमुखमा तीन-तीन जनाको नाम सिफारिस गरेको छ । महानगर कमिटीको आज बसेको बैठकले मेयरमा कमिटी अध्यक्षसमेत रहेका बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको हो ।

सिफारिस दिएकामध्ये लामिछाने अघिल्लो स्थानीय तहमा पनि पोखरा प्रमुखका लागि उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा नेपाली कांग्रेससँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए । अघिल्लो चुनावमा माओवादी र कांग्रेस तालमेल गरे पनि नेकपा एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई करीब १४ हजार मतान्तरले पराजित गरेका थिए ।

त्यस्तै, महानगर उपप्रमुखमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको छ । उपप्रमुखमा सिफारिस भएकामध्ये ढकालले अघिल्लो पटक पनि उपप्रमुखमा उम्मेदवारी दिएकी थिइन् । त्यतिबेला उनले ८ हजार ७९६ मतसहित तेस्रो भएकी थिइन् । उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार ४८४ मत ल्याउँदै ४४ हजार ३३८ मत ल्याएकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सरस्वती गुरुङलाई पराजित गरेकी थिइन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १९:२३