२० कार्तिक २०८१, मंगलवार | Tue Nov 5 2024

खोटाङका ६ पालिकामा कांग्रेससहितको गठबन्धन, चारमा कांग्रेस एक्लै लड्ने

५ वैशाख, खोटाङ । आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका सत्तारुढ चार दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा कांग्रेस सहितको र चार स्थानीय तहमा कांग्रेस बिनाको गठबन्धन गर्ने निर्णय भएको हो ।

गत १६ चैत यता निरन्तर बसेको सत्तारुढ दल कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको बैठकले आइतबार राती पालिका प्रमुख र उपप्रमुखको भागबन्डा टुंग्याएको हो । ४ स्थानीय तहमा भने कांग्रेस एकल चुनाव लड्ने सहमति भएको पूर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा नेकपा एकीकृत समाजवादी, रावाबेँसी गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेस, खोटेहाङ गाउँपालिका प्रमुख माओवादी केन्द्र, उपप्रमुख कांग्रेस, जन्तेढुंगा गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेसको भागमा परेको छ ।

तर हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकामा भने कांग्रेसले एकल उम्मेदवारी दिने सहमति भएको छ । कांग्रेस सिंगल लड्ने भए पनि त्यी चार स्थानीय तहमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीचमा चुनावी तालमेल हुने भएको छ ।

केपीलासगढी गाउँपालिकामा प्रमुख नेकपा एकीकृत समाजवादी र उपप्रमुख जनता समाजवादीको भागमा तथा साकेला गाउँपालिकामा प्रमुख माओवादी केन्द्र र उपप्रमुख जनता समाजवादीको भागमा परेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री रामकुमार राई पासाङले बताए । यद्यपि यस बारेमा थप छलफल भइरहेको जनाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमति भएको छ । चार स्थानीय तहमा कांग्रेस सिंगल लड्ने भए पनि मित्रवत् र स्वस्थ प्रतिस्पर्धा हुने पूर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य फुयाँलले बताए ।

जिल्ला समन्वय समिति प्रमुख जनता समाजवादीलाई दिने सहमति भएको छ । जिल्ला समन्वय समिति उपप्रमुखको भागबन्डा छलफलकै चरणमा छ । गठबन्धन दलले पालिका प्रमुख, उपप्रमुखदेखि जिल्ला समन्वय समिति प्रमुखको भागबन्डा टुंग्याए पनि ७९ वडाको भागबन्डा टुंग्याउन बाँकी छ । भागबण्डामा प्रमुख र उपप्रमुख परेका दलभित्र पुनः उम्मेदवारको छनौट सुरु भएको छ । आकांक्षी धेरै भएकाले उम्मेदवार चयन थप सकसपूर्ण देखिएको छ । जिल्लामा एमाले पनि उम्मेदवार चयनमा जुटेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १९:०५