कालापानी र लिपुलेक फिर्ता लिन पाँचै वर्ष सरकारको नेतृत्व एमालेले गर्नुपर्छः गुरूङ
५ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बहुमतसहितको नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन ।
‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बहुमतसहितको नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्छ,’ उपमहासचिव गुरुङले भने, ‘अरु राजनीतिक दलहरु सिंहदरबारमा बसेर गठबन्धनको गफ गरिरहेका छन् । हामी चुनावी प्रचार अभियानमा गाउँगाउँमा पुगेका छौँ । हिजोको भन्दा अहिलेको एमाले शक्तिशाली छ । हामी स्थानीय र प्रदेश–संघको निर्वाचनमा ६० प्रतिशत बढी मत ल्याएर स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व गर्छौ ।’
उनले गुमेको भ–ूभाग फिर्ता लिन र समृद्धिको सपना छ पूरा गर्न पनि नेकपा एमालेले पाँच वर्ष सरकारको नेतृत्व गर्नुपर्ने बताए । ‘अहिले सत्ता गठनबन्धन मुखमा पसेको छुचुन्द्रो जस्तो भएको छ, सिंहदरबारमा बसेर कुन पद कस्ले पाउने भन्ने झगडामा छन्,’ उनले भने, ‘हामी कहाँ–कहाँ उम्मेदवार उठाउने भन्ने तयारीमा जुटेका छौँ । एमालेको यो तयारी निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल सुखी नेपालीलाई सार्थक बनाउने हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको सपना पूरा गर्नका लागि हो ।’

गुरूङले एमालेसँग मुलुकभरी नै अभूतपूर्व आकर्षण बढेको पनि दाबी गरे । ‘वामआन्दोलनप्रति निष्ठा भएका सबै पार्टीका मान्छे एमालेमा प्रवेश गरिरहेका छन्,’ उनले भने, ‘जतिसुकै गठबन्धन गरे पनि हामी ६० प्रतिशत कटाउछौँ । हिजो विभाजित एमाले चुनावमा गएको थियो, अहिले त्यस्तो अवस्था छैन, कमाण्डर एउटै छ । त्यसले ठूलो उर्जा प्राप्त भएको छ ।’
गुरूङले एकिकृत पार्टी भएका कारण अहिलेको परिस्थितिमा एमाले पहिलो भन्दा थप उचाई र उर्जाका साथ चुनावी मैदानमा जाँदै गरेको पनि उनले बताए । ‘एमाले विदेशीसँग घुँडा टेक्दैनन् भन्ने सन्देश पुगेको छ,’ उनले भने, ‘जनताको आशा र भरोसाको पार्टी एमाले बनेको छ ।’
प्रकाशित मिति : April 18, 2022 at 10:25 am









