७ असार २०८३, आइतबार | Mon Jun 22 2026

कांग्रेस पोखराले खोल्यो मेयर र उपमेयरको आवेदन

३ वैशाख, पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ बैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनु पर्नेछ । कांग्रेस पोखराले सूचना जारी गरि आकांक्षी आफै उपस्थित भएर नाम दर्ता गराउनु पर्ने जनाएको छ ।

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले पोखराको मेयर उपमेयर पाउने नपाउने कुनै टुंगो छैन । श्रोतका अनुसार पोखराको मेयर एकीकृत समाजवादीले पाउने पक्का जस्तै छ । महामन्त्री गगन थापाले पनि माधवकुमार नेपालले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको बताए ।

‘माधवकुमार जीले पोखराको मेयरमा बढी नै दावी गर्नु भएको छ । उहाँले भोटसहित कांग्रेससँगको बैठकमा छलफल गर्नुभएको छ,’ कास्की कांग्रेसको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले भनेका थिए, ‘तपाईंहरुको दबाबले उथलपुथल भए मात्रै । नत्र यो एकीकृत समाजवादीले छोड्दैन ।’

काठमाडौं पुगेर फर्केपछि पोखरा महानगर समितिले मेयर र उपमेयरको आवदेन खुलाएको हो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ अनुसार योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सूचना जारी गरिएको हो ।

कांग्रेस कास्कीले पोखराको मेयर आफैले पाउनुपर्ने अडान राखेको छ । पोखराका सभापति सुरेन्द्रमान बिजुक्छेले आवेदन लिएर सकेसम्म सर्वसम्मत एउटै व्यक्ति प्रदेश हुँदै केन्द्रमा पठाउने बताए । ‘हामी हाम्रो तयारी गरेर बस्नुपर्छ । उम्मेदवार खोजेर जित्नेलाई अघि सार्नुपर्छ,’ उनले भने, ‘गठबन्धनको कुरा केन्द्रको हो । तर, आफ्नो जिम्मेवारी त पूरा गर्नै प¥यो ।’

प्रकाशित मिति : April 16, 2022 at 4:17 pm