८ असार २०८३, सोमबार | Tue Jun 23 2026

मोबाइल एप्सबाट रेडियो नेपाल विश्वभर सुन्न सकिने

१ भदौ,काठमाडौँ । रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ । एण्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स आज रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नुभयो ।

सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स सहयोगी सावित हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । “रेडियो नेपालले सकारात्मक कुरा पठाउनुपर्छ, नकारात्मक कुरा होइन, दिग्भ्रमित गर्ने विषयको आयु छोटो हुन्छ, यो संस्थाले राष्ट्रको प्रतिनिधित्व गर्छ, यसैले रेडियो नेपालले सरकारको मात्र नभई सबैको सही सूचना सम्प्रेषण गर्नुपर्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

रेडियो नेपालमा स्वर परीक्षा नलिइ समाचार वाचन र कार्यक्रम चलाउन नदिन उहाँले निर्देशन दिनुभयो । महङ्गो पर्ने भए पनि गुणस्तरीय प्रविधि ल्याएर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले प्रसारण पहुँच नपुगेका स्थानमा मोबाइल एप्स प्रयोग गरी इन्टरनेट र वाइफाइका माध्यमबाट सुन्न सकिने बताउनुभयो । एप्सबाट तीन वर्षअघिदेखिको अडियो सुन्न सकिने जनाइएको छ । हाल २१ भाषामा प्रसारण भइरहेको रेडियो नेपालमा केही प्रदेशबाट भाषा थपको माग आएको उहाँले सुनाउनुभयो ।

नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले रु पाँच लाखको लागतमा मोबाइल एप्स तयार भएको जानकारी दिनुभयो । रेडियो नेपालले कतिले सुन्छन् भन्ने वास्तविक तथ्य पत्ता लगाउन प्राविधिक सर्वेक्षणसमेत गर्ने तयारी गरिरहेको जानकारी पनि उहाँले गराउनुभयो । विसं २०५२ देखि अनलाइनमा गएको रेडियो छिट्टै डिजिटल प्रविधिमा जाने जनाइएको छ । आइफोन चलाउनेका लागि छिट्टै आइओएस प्रविधिको अर्को एप्स ल्याइनेछ । इष्ट लिङ्क डेभलपर कम्पनीले मोबाइल एप्स निर्माण गरेको हो ।

प्रकाशित मिति : August 17, 2018 at 4:50 pm