१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विश्वविद्यालयलाई राजनीतिक स्वार्थसिद्ध गर्ने थलो बनाउन हुँदैनः अध्यक्ष ओली

२६ चैत, काठमाडाैँ । नेकपा एमालेका अध्ययक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक समूहले आफ्नो निहीत स्वार्थ पूरा गर्ने थलो बनाउन नहुने बताएका छन । नेपाल प्रगतिशील प्राध्यापक संगठनको दसौं राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा अध्यक्ष ओलीले शुक्रबार यस्तो बताएका हुन ।

अध्यक्ष ओलीले लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा लागेको तालाबन्दीको सन्दर्भलाई उठान गर्दै आजको लोकतान्त्रिक युगमा तालाबन्दीको तरिका निसन्देह अशोभनीय कार्य रहेको बताए । उनले विश्वविविद्यालयका समस्याहरुको समाधान वार्ताको माध्यमबाट सममाधान गर्न सुझाव पनि दिए । अध्यक्ष ओलीले गुणस्तरीय, नैतिकवान र राष्ट्रिय भावना सहितको उच्च शिक्षा आजको आवश्यकता भएको औल्याउँदै त्यसका लागि प्राध्यापक, विद्यार्थी र पदाधिकारी सबै पक्षले सकारात्मक पहल गर्नुपर्ने बताए ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.बेदराज के.सी.को सभापतित्वमा भएको उक्त कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले देशको वर्तमान आवश्यकतालाई सम्वोधन गर्न सक्ने गरी विभिन्न विषयहरुमा पाठयक्रम निर्माण र परिमार्जन गर्नपर्ने बताए । महासचिव मैनालीले आजको नेपाली समाजले जिम्मेवार र दक्ष जनशक्ति माग गरेको पनि बताए ।

कार्यक्रममा नेकपा एमाले शिक्षा तथा मानवस्रोत विभागका प्रमुख गुरु बरालले नेपालको उच्चशिक्षामा देखिएका वर्तमान चुनौतीहरुको चर्चा गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउन प्राविधिक एवं व्यावसायिक शिक्षामा प्राथमिकता दिनु पर्ने बताए । उनले उच्च शिक्षाको समग्र विकासका लागि राज्यको तर्फबाट लगानी बढाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक प्रा.डा. रमेश भट्टराई, लोकतान्त्रिक प्राध्यापक संगठनका अध्यक्ष उदय तिवारी लगायत प्राध्यापकहरुले शुभकामना मन्तव्य राखेका थिए । उदघाटनपछि लगत्तै शुरु भएको बन्दसन्त्र कार्यक्रमबाट महासचिव डा. खगराज बरालले पेश गरेको साँगठनिक प्रतिवेदन र सचिव रामकुमार राईले पेश गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ ।

नेपाल प्रगतिशील प्राध्यपाक संगठनका सचिवालय सदस्य देवराज अर्यालका अनुसार आज बन्दसत्रबाट १२५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गर्दै सम्मेलन सकिनेछ । प्रस्तावित विधानअनुसार पदाधिकारीहरुमा अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ र कोषाध्यक्ष १ रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०८:१०