७ असार २०८३, आइतबार | Sun Jun 21 2026

धरानमा गठबन्धन तह लगाउने मनोजकुमार मेन्याङ्बोलाई एमालेले टिकट देला त ?

२३ चैत, काठमाडाैँ । सुनसरी– पुर्वमा बामपंथी गढको रुपमा चिनिएको धरान उपमहानगरमा नेकपा एमाले र नेपाली कांग्रेसलाई यसपालीको स्थानीय तहको निर्वाचन प्रतिष्ठाको विषय बनेको छ । हुन त कांग्रेसले गठबन्धनका घटकहरु नेकपा माअ‍ोवादी केन्द्र, नेकपा एकिकृत समाजवादी (एस), जनता समाजवादी पार्टी र जनमोर्चाको साथ र सहयोगमा ०७६ मंसिरको उपनिर्वाचन दोहो¥याउने सपना देखेको छ ।

एमालेले भने ०७४ असारको नतिजालाई दोहो¥याउदै आफ्नो पुरानो साख फकाउने चुनावी रणनिति बनाइरहेको छ । धरानको राजनितिक इतिहासलाई पछाडि फर्केर हेर्दा पहिलो पटक २०१५ सालमा आम निर्वाचन हुदा कांग्रेसका डिट्ठा ज्ञानचन्द्र सरदारले जितेका थिए । त्यसपछि ०१७ सालमा नगरपालिका घोषणा भएसंगै बामपंथी उम्मेदवारहरु नै लगातार मेयर भए ।

०४६ सालको जनआन्दोलन पछि संवैधानिक राजतन्त्रको पालामा ०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उमेदवार नै मेयरमा निर्वाचित भएका थिए। ०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले वामपन्थी जितलाई निरन्तरता दिए । लोकतान्त्रिक गणतन्त्र नेपालमा नयां संविधान ०७२ सालमा जारी भएको दुइबर्ष पछि भएको ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुव्वाले थप निरन्तरता दिए ।

नेपाली कांग्रेसका उम्मेदवार तिलक राईलाई सुब्बाले पराजित गरेका थिए। सुव्वाले २० हजार ९ सय ७५ मत ल्याउदा तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए । मेयरमा जितेको एक वर्ष नपुग्दै ०७५ साउन १ गते सुब्बाको निधन भयो । उपमेयर मन्जु भण्डारीले कार्यवाहक मेयर पद सम्हालिन् ।

०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराए । तिलकले २६ हजार ७ सय ९ मत ल्याउदा नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत मात्र पाए । जितपछि मेयर तिलकले पटक पटक भनेका थिए, ‘धरानका कांग्रेसको ऐतिहासिक जित भएको छ । तर कांग्रेसको भोटले मात्र मैले जितेको होइन ।’ उनले चुनावी एजेण्डा बनाएका थिए, कर राजश्वको दर घटाउने । हवाइ मैदान बनाउने, खानेपानी योजना सफल बनाउने, सुकुम्बासीलाई धनीपुर्जा दिने आदि । तर उनको दुइबर्षे कार्यकाल गफैगफमा वित्यो । न कर राजश्व घटाए, न कुनै सम्झन योग्य विकास निर्माण नै गरे ।

हौसिएका कांग्रेसका तिलक राईले यसपटक पनि मेयर दोहो¥याउने लालसा देखाइरहेको बेला उनकै दलबाट एन्फाका उपाध्यक्ष समेत रहेका पुर्व धरान नगर सभापति किशोर राई, क्षेत्रीय सभापति सुजेन्द्र गोले, प्रदेश महासचिव उमेश कोइरालाले चुनौती दिइरहेका छन् । गठबन्धनमार्फत धरानमा एमालेलाई हराउने रणनिति कांग्रेसले बनाएको छ । यसवीच प्रमुख पदमा गठबन्धनकै नेकपा माओवादी केन्द्रले पनि दावी गरिरहेको अवस्था छ ।

कांग्रेस आफैले प्रमुख पद राखेर गठबन्धन घटकलाई उपमेयर र वडाध्यक्ष दिने तयारी गरेको छ । धरानका २० वटा वडा मध्ये ०७४ को चुनावमा एउटा वडामामात्र माओवादीले जितेको थियो भने चारवटा वडामा कांग्रेसले जितेका थिए । बांकी १५ वटा वडा एमालेले कव्जा जमाएको थियो । ०७४ को निर्वाचनमा १५ वटा वडा जितेर बलियो उपस्थिति जनाएको एमालेले उपनिर्वाचनमा पराजित हुनुमा कमजोर उम्मेदवार, उपमेयर मन्जु भण्डारी कार्यवाह मेयर भएको बेला डेढबर्षसम्म सम्झन योग्य र जनताको मनजित्ने काम गर्नु भन्दा विवादित भइरहनु आदि कारणहरु रहेको राजनितिक विष्लेशकहरुले बताउने गरेका छन् ।

अव यसपटक धरानमा के गर्छ एमाले
सत्तासाझेदार दल वीच चुनावी गठबन्धन गर्ने राजनितिक र सैद्धान्तिक सहमती भएको छ । यो कुरा व्यवाहारमा लागु भए धरानमा एकातिर एमाले हुने छ भने अर्को तिर कांग्रेससहित गठबन्धन दलहरु आमने सामने हुने छन् । धरानको कुल मतदाता १ लाख ३ सय २४ जना रहेका छन् । बढीमा ७० प्रतिशत मत खसेमा मेयर पद जित्नेले धरानमा ३५ हजार मत कटाउनुपर्ने बाध्यता छ । धरानमा ०७६ मा कांग्रेसले २६ हजार ७ सय ९, एमालेले २३ हजार ९ सय १४ र लिम्बुवानले १ हजार १ सय ३१ प्राप्त गरेका थिए ।

माओवादी केन्द्र र एमाले एउटै पार्टी हुदा समेत प्रकास राई पराजित भए तिलक राईसंग । जवकी चुनावका बेला कांग्रेसका स्थानीय नेताहरुले नै भनिरहेका थिए धरानमा कांग्रेसलाई एकछापे भोट हान्ने विशुद्ध कांग्रेसी ८ हजार भन्दा बढी छैन । बांकी भोट मध्ये माओवादी, एमाले भित्रैका असन्तुष्ट गुट र सुकुम्बासीहरुले तिलकलाई दिएको पछि खुलेको थियो । यसपटक भने न गठबन्धनलाई सहज छ न एमालेलाई ।

धरानमा नेकपा एमालेबाट निर्वाचनका लागि ८ जना आकाङ्क्षी रहेपनि जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने पार्टी भित्र आवाज उठिरहेको छ । एमालेको लागि धरानमा जित्नु प्रतिष्ठाको विषय भएकाले जित्ने उम्मेदवारलाई टिकट नदिए सदाकालागि धरान एमालेबाट फुत्केर कांग्रेसको पोल्टामा जाने विष्लेशण पार्टी भित्रै हुन थालेको छ ।

एमालेबाट प्रमुखका लागि पुर्व मेयर मनोज कुमार मेन्याङ्बो, मिन सुब्बा, मञ्जु भण्डारी, मोतीराज सुनुवार, विजय राई, प्रकाश राई, पदम इस्बो र नारायण सुवेदी आकाङ्क्षी रहेका छन् । तर, एमालेका एक नेताका अनुसार अन्तिम नामावली मनोज कुमार मेन्याङ्बो, मोतीराज सुनुवार, मिन सुब्बा र मञ्जु भण्डारी सुवेदी पठाइने बताएका छन् ।

कांग्रेससहित गठबन्धन दलका नेताहरुले एमालेले मनोजकुमार मेन्याङ्बोले टिकट नपाओस भन्न चाहेका छन् । धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सांस्कृतिक र भौतिक विकास निर्माणको २० बर्षे दीर्घकालिन मिसन, भिजन र गोलसहितको योजना बनाएर मुलुकमै पहिलो पटक जनसहभागितामा आधारित विकासे मोडल कार्यान्वयन गर्न सफल मेन्याङ्बो ०५४ पछिको पाच बर्षे कार्यकालमा मुलुककै चर्चित तीन मेयर मध्ये एक थिए । त्यसबेला काठमाण्डौका मेयर केशव स्थापित, हेटौडाका मेयर डोरमणी पौडेल र धरानका मनोज कुमार मेन्याङ्बो चर्चामा थिए ।

पार्टीमा लामो समय व्यस्त रहदा आर्थिक रुपले कमजोर भएपछि आफ्नो परिवार र आर्थिक स्थिती सुधार्ना ६ बर्षकालागि पार्टीबाट विदा लिएका मेन्याङ्बो करिव ८ बर्षपछि फेरि फर्कदा आफ्नै पार्टी भित्रका जुनियर नेताहरुसंग फेरि प्रतिश्पर्धा गर्न बाध्य भएका थिए । उनलाई पार्टीमा निस्कृय बसेको आरोप लागेको थियो ।

यही विषयलाई लिएर पार्टीभित्रका केही समुहले टिकट दिन नहुने बताउदै आएका छन् । तर धरानमा एमालेले जित्नकालागि उनको विकल्प नभएको र अरुलाई दिए एमाले पराजय भोग्न तयार हुनुपर्ने अवस्था रहेको छ । निर्णायक क्षमता राख्ने मिसन भिजन भएका मेन्याङ्बो फेरि मेयर भएमा धरानमा हालीमुहाली चलाएर भ्रष्टाचार र कमिसनको खेती गर्ने नगरपालिकाका कर्मचारी र पार्टी भित्रका नया पुराना पुस्ताका नेता कार्यकर्ताले खाइपाइ आएको सवै खोसिने त्रासले एकपक्ष उनलाई कुनैपनि हालतमा टिकट दिनु हुन्न भन्ने ध्याउन्नमा छन् ।

अर्को तर्फ कांग्रेसका युवा जोश जांगर भएपनि तिलक राइृले दुइबर्षै कार्यकालमा धरान खानेपानी व्यबस्थापन बोर्डमा ३० जना आफ्नो मान्छेहरुलाइ मात्र जागरि खुवाउनमात्र सफल भए तर धरानको विकास निर्माणमा कुनै योगदान नदिएपछि सामान्य मतदातादेखि पार्टीको नेता कार्यकर्तालेसमेत मेन्याङ्बोलाई टिकट दिए फेरि धरानमा एमालेले पुरानो शाख फर्काउन सक्छ भन्न थालेका छन् ।

एक पटक उपमेयर एक पटक मेयर हुदा कुनै पनि आर्थिक विवादमा नपरेका र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने, कार्यकर्ता र जनतालाई खोक्रो आश्वासन नदिने, ठूलो सपना पनि नबाड्ने, हुन्छ भने हुन्छ हुदैन भने हुदैन भन्ने, आफ्नो अडान नछाड्ने छवि बनाएका मेन्याङ्बो पद र प्रतिष्ठाकालागि शीर्ष नेताहरुलाई चाकडी गरेर भेटघाट गर्दै रिझाउन नरुचाउने नेताका रुपमा चिनिन्छन् । सुनसरी एमालेका एक अगुवा नेताले भने, ‘अव धरानमा पहिलेको जस्तो लौरो देखाएर यो एमाले उम्मेदवार हो भनेर जित्ने बेला गयो । यस्तो बेला गठबन्धन र कांग्रेसको सपना तोड्नकालागि धरानको विकास निर्माण र भविष्य निर्माणकालागि मनोज मेन्याङ्बोको विकल्प छैन ।’

प्रकाशित मिति : April 6, 2022 at 5:25 pm