१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नुवाकोटकाे त्रिशूली माध्यमिक विद्यालयमा सिभिल इञ्जिनीयरिङ पढाइ हुँने

३० साउन,नुवाकोट । विदुर नगरपालिका–१ त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अब सिभिल इञ्जिनीयरिङको अध्ययनअध्यापन हुने भएको छ । पहिलो पटक जिल्लामा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ हुन लागेको हो । विसं २००७ मा स्थापित तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीनवर्षे सिभिल इञ्जिनीयरिङको स्नातक तहको पठनपाठन शुरु हुँदैछ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकाले यसै वर्षदेखि पढाइ शुरु गरिने विद्यालयका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो । एक शैक्षिक सत्रमा ४८ विद्यार्थीले पढ्न पाउनेछन् ।

इञ्जिनीयरिङ विषय पढ्नका लागि विगतमा राजधानी, चितवनतिर विद्यार्थीलाई जानुपर्ने हुन्थ्यो । सिभिल इञ्जिनीयरिङ कक्षाको पठनपाठनले अन्य विद्यार्थीलाई असर नहोस् भनेर छुट्टै ब्लक निर्माण गरी पढाइ सञ्चालनको तयारी भइरहेको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । सिभिल इञ्जिनीयरिङका लागि आवश्यक प्रयोगशाला कक्षा, कम्प्युटर कक्षालगायत भौतिक पूर्वाधार तयार पारिसकिएको विद्यालयले जनाएको छ ।

कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन सञ्चालन गरेर जिल्लाका विद्यार्थीलाई विज्ञान अध्ययन गर्ने अवसर दिएको विद्यालयले अब सिभिल इञ्जिनीयरिङ विषयको पढाइ समेत सञ्चालन गरेर सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने चाहनेले जिल्ला बाहिर जान नपर्ने भएको विद्यालयका प्रधानाध्यापक महेन्द्र रावतले बताउनुभयो ।

प्रकाशित मिति : 17:49