१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


२१ चैत, काठमाडाैँ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले चैत १६ गतेदेखि निष्कासनमा ल्याएको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओमा सर्वसाधारणले आज (सोमबार) सम्म मात्र आवेदन दिन सक्नेछन् ।

आईपीओ खरिदका लागि आइतबारसम्म मागभन्दा  १२.७६ गुणा बढी आवेदन परेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  उक्त दिनको बेलुकासम्म १८ लाख ७० हजार ७०९ जनाले २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आवेदन दिएका  छन् ।

कम्पनीले पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियमा १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ देखि फागुन २६ गतेसम्म विक्री खुला गरी बाँडफाड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ११:१४