२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेकाे नयाँ कार्यक्रम: काेही भाेकै बस्नुनपर्ने, बिबाह गर्न समेत सहयाेग गर्ने ( भिडियाेसहित)

२० चैत, काठमाडौँ । नेकपा एमालेले सामाजिक सेवा केन्द्र नामकाे नयाँ कार्यक्रम अघि सारेकाे छ । उक्त कार्यक्रममा अफ्ट्यारोमा परेका सबै नागरिकलाई सहयाेग गर्ने उल्लेख छ । आइतबार केन्द्रकाे घाेषणा कार्यक्रममा अध्यक्षता गरेकाे उद्याेगपति समेत रहेका नेता माेतिलाल दुगडले बिरामी भएर उपचार गर्न नसक्नेकाे पैसा तिरिदिने र खान नपाएर भाेकमरीमा परेकालाई खानाकाे व्यवस्था गर्ने र कसैकाे बिबाह भएकाे छैन भने त्यसकालागि पनि सहयाेग गर्ने बताए ।  के हाे केन्द्र ?

सामाजिक सेवा केन्द्र (social service center)
१. सामाजिक सेवा केन्द्र स्थापना सम्बन्धमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नयाँ योजनासहित नयाँ अभियान अघि सारेको छ । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार एमाले पार्टीले सामाजिक सेवा केन्द्र स्थापना गर्न लागेको हो । राजनीतिक दल आफैंमा मानव सेवाको लागि स्थापना भएका हुन्छन्।
जनताको सेवा गर्नु नै उनीहरुको मुख्य उद्देश्य हुन्छ ।

जनताहरुको हरेक दुःख तथा समस्याहरु समाधान गर्नु त राजनीति गर्नेहरुको धर्म नै हो । एमालेले भने यस्तो कार्यलाई अझ प्रभावकारी बनाउन सामाजिक सेवा केन्द्र स्थापना गर्न चाहेको हो । राजनीतिक दलको उद्देश्यअनुसार नै हामी अघि बढ्न चाहेका छौँ । अब एमालेले सामाजिक सेवा केन्द्र स्थापना गरेपछि जनतासँग प्रत्यक्ष जोडिन थप सहज हुन्छ भने समस्या र दुःख भोगिरहेकाहरुले पनि
राहत पाउनेछन् ।

यसका लागि इच्छुक महानुभावहरुलाई यस पवित्र अभियानमा समेट्दै अघि बढ्ने र यसको सञ्जाल पनि देशव्यापी बनाउने हामीले लक्ष्य राखेका छौँ । तन, मन र वचनसाथ लाग्ने गरी यो अभियान सुरु गरेका छौँ। कोही पनि नेपाली भोको बस्न नपरोस् भन्ने पार्टी अध्यक्षको मनसायलाई साकार पार्ने गरी नै यो अभियान सञ्चालन गर्न लागिएको हो । तर मानवीय सहयोगको लागि भने सम्पूर्ण जागरुक दाजुभाइ तथा
दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौँ ।

२.सामाजिक सेवा केन्द्रले के-के काम गर्छ

‘सामाजिक सेवा केन्द्र’ यो शब्दले नै धेरै कुरा बताइसकेको छ। अब समाजमा एमाले प्रत्यक्ष सहयोग लिएर जान्छ। देशभर हुने प्राकृतिक
प्रकोप चाहे त्यो वर्षायाममा हुने बाढी पहिरो होस् वा सुख्खा समयमा हुने आगलागी नै किन नहोस्, त्यसबाट प्रभावितहरुलाई नगद, खाद्यान्न
तथा दैनिक उपभोग्य सामानहरु लिएर पुग्नेछौँ।

महामारीको कारण दुःख पाएका, उपचार नपाएकाहरुलाई पनि हामी सहयोग गर्नेछौँ। औषधि उपचारदेखि मृतकका परिवारलाई काजकिरिया गर्न समेत एमालेले सहयोग गर्नेछ। त्यति मात्रै नभई सामाजिक सेवा केन्द्रले समाजमा प्रताडित, अन्यायमा परेका र सामाजिक कुरीतिहरुले अपहेलनामा परेकाहरुलाई समेत सहयोग गर्नेछ।

हाम्रो देश नेपालमा अझै पनि दाइजो प्रथा, जातीय भेदभाव, बोक्सीको नाममा हुने सामाजिक अपहेलना तथा असह्य दुःख दिने काम अहिले पनि भइरहेको परिप्रेक्ष्यमा सामाजिक सेवा केन्द्रले पीडित जनताहरुको उद्धार र सहयोग गर्नेछ।

सामाजिक सेवा केन्द्र नेकपा एमालेको नयाँ अभियानका साथै प्रभावकारी काम गर्ने नयाँ रुप भएकोले हामी नयाँ ढंगबाट अघि बढ्न चाहेका छौँ । यसले अब नयाँ उद्यम गर्न चाहनेको लागि पनि सरकारले लिएको नीति त्यसबाट नवप्रवर्द्धक कम्पनी कसरी सञ्चालन गर्ने त्यसको जानकारी समेत गराउनेछौँ । निजी क्षेत्र देशको विकासको मेरुदण्ड नै हो। देश आर्थिक समृद्धिको नारा लिएर अघि बढिरहेको छ। त्यो साकार हुन निजी क्षेत्र पनि बलियो हुनपर्छ। तर नेपालका निजी क्षेत्रहरुले धेरै किसिमका समस्या भोगिरहेका छन् ।

सरकारी तवरबाट हुने काममा ढिलासुस्ती हुने गरेको उनीहरुको धेरै गुनासो रहेको छ । कतिपय कामहरु निजी क्षेत्रका सरकारी निकायमा अल्झिएर बसेको नै हुन्छ। अब पार्टीले सञ्चालन गर्ने सामाजिक सेवा केन्द्रले निजी क्षेत्रको समस्या समाधानमा समेत समन्वय गरिदिनेछ।जनतालाई साथ दिने नारा धेरै पटक धेरै पार्टीले लगाइरहेकै छन्।

तर अब नारामा मात्रै सीमित पार्ने होइन। त्यसलाई जनतासँगै प्रत्यक्ष जोडिएर राजनीतिक दलले गर्ने काम कस्तो हुन्छ भन्ने अनुभव यो अभियानले गराउनेछ । त्यो काम सामाजिक सेवा केन्द्रले नै गर्नेछ। नेपालमा अहिले ठूलो समस्याको रुपमा बेरोजगारी रहेको छ। त्यही बेरोजगार युवा जोसँग जोस जाँगर समेत रहेको छ, उनीहरुलाई बेरोजगारीबाट रोजगारी दिलाउने काम यस अभियानले गर्नेछ । बेरोजगार जनताहरुलाई रोजगारदाताहरुसँग समन्वय गराउने काम अब सामाजिक सेवा केन्द्रले गर्नेछ।

३. कसरी सञ्चालन हुन्छ सामाजिक सेवा केन्द्र

पार्टी अध्यक्ष संरक्षक रहने गरी सामाजिक सेवा केन्द्र स्थापना हुनेछ । सामाजिक सेवा केन्द्र सञ्चालनको लागि पार्टीका वरिष्ठ नेताहरुको एक
समिति गठन हुनेछ । त्यो समितिले आफ्नो योजनाहरु निर्देशित गर्ने र प्रभावकारी रुपमा भए नभएको अनुगमन गर्नेछ । सामाजिक सेवा केन्द्रको सञ्चालन भने देशभर हुनेछ ।

त्यो नेटवर्किङ रुपमा केन्द्रदेखि वडा तहससम्म यो सञ्चालन हुनेछ । पार्टीको देशभर रहेको आफ्नै विभिन्न कमिटीहरुबाट नै यो सञ्चालन हुनेछ । यसमा पार्टीका कार्यकर्ता परिचालन गरिनेछ । देशमा धेरै ठूला समस्या आउन सक्छन् । त्यो राष्ट्रिय समस्या समेत बन्नसक्छ । त्यसको एक उदाहरणको रुपमा अहिलेको मेलम्चीको बाढी पहिरो जस्तो ठूलो क्षति पुगेको स्थानमा हाम्रो स्थानीय कमिटीको मात्रै सहयोग
अपुग हुनसक्छ ।

त्यसको लागि हामी केन्द्रीय कमिटीबाट हेर्नुपर्ने हुन्छ । देशभरका हाम्रा युवा कार्यकर्ताहरु जम्मा गरेर सहयोग गर्नुपर्ने हुन्छ । त्यस्तै निजी क्षेत्रको नीतिगत रुपमा सल्टाउनुपर्ने विषयमा समेत स्थानीय कमिटीले गर्ने सहयोग प्रभावकारी नहुन सक्छ । त्यसलाई समेत हामीले
केन्द्रीय स्तरबाट सल्टाउनुपर्छ ।

४. सामाजिक सेवा केन्द्रबाट जनताले सेवाचाहिँ कसरी लिने सामाजिक सेवा केन्द्रको हटलाइन नम्बर हुनेछ। सोही नम्बरमा जनताले सिधा सम्पर्क गर्न सक्नेछन्। आर्थिक, सामाजिक तथा प्राकृतिक जुनसुकै समस्या पर्दा पनि हामीलाई जनताले सम्झिन सक्नेछन् । सोही नम्बरमा सम्पर्क गरी उनीहरुले सहयोगको लगि अपिल गर्न सक्नेछन् । कसैलाई समस्या परेको थाहा पाउनेबित्तिकै हाम्रो टोली सोही स्थानमा पुगेर उद्धार गरी सहयोग प्रदान गर्नेछ । त्यसको लागि सहयोगको भ्यान समेत सामाजिक सेवा केन्द्रसँग रहनेछ । त्यसमा खाद्यान्न, प्राथमिक उपचारको सामान अनिवार्य रहनेछ ।

५. सामाजिक सेवा केन्द्रको लागि स्रोत

सामाजिक सेवा केन्द्र हाम्रो आन्तरिक स्रोतबाट सञ्चालन हुनेछ । सेवा गर्ने मन भएकाहरु यसमा जोडिन सक्नेछन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार १८:०७