२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पत्रकार रत्नकृष्णको बिस्का जात्राको फोटो प्रदर्शनी हुने

२० चैत, भक्तपुर । फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले भक्तपुरको मध्यपुर थिमिको बिस्केट जात्रासम्बन्धी खिचेका संकलित फोटोहरुको एकल प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा २२ देखि २४ चैतसम्म तीन दिन फोटो प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा पत्रकार श्रेष्ठले खिचेका ७० तस्बिर समावेश हुने छन् । मध्यपुर थिमिका स्थानीय बासिन्दाले मनाउने गरिएको बिस्का जात्रासम्बन्धी फोटो प्रदर्शनी हुने भएको हो ।

पत्रकार श्रेष्ठका अनुसार उपत्यकामा मनाइँदै आएका विभिन्न जात्राहरू अहिले आएर लोप भएका छन् । त्यस्ता जात्रा र संस्कृति लोप हुन नदिन जात्रामा खिचिएका ७० वटा फोटो प्रदर्शनीमा राखिने जनाइएको हो । भक्तपुरको बिस्का जात्रा मध्यपुर थिमीमा मनाइने सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा प्रमुख मानिन्छ । यसबाहेक पनि यहाँं अनेक जात्राहरू हुन्छन् । तर ती जात्राहरू क्रमशः लोप हुन थालेका छन् । फोटो प्रदर्शनीले जात्रा हेर्न आउनेहरूको संख्यामा वृृद्धि हुने उनको विश्वास छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार १२:००