अहिल्यै देश टाटपल्टिने अवस्थामा पुगेको छैन, चिन्ता नगर्नुस्ः अध्यक्ष प्रचण्ड
१७ चैत, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिल्यै देश टाटपल्टिने अवस्थामा नपुगेको बताएका छन । बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘मैले पनि अनुसन्धान गरिरहेको छु । अहिल्यै देशको अर्थतन्त्र टाटपल्टिने अवस्था पुगेको छैन । समस्या देखियो भने हामी छाैँ । श्रीलङ्कामा जस्तो उत्तरपुस्तिका नै छाप्न पैसा नहुने अवस्था छैन । केही प्राविधिक कारण छ त्यो हामी विस्तारै मिलाउँछाैँ ।’
उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अबलम्बन गर्नुपर्ने बताए । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले बताए ।
उनले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको पनि बताए । प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं । निर्वाचनमा गठबन्धबबाटै जाने भन्नेमा हामी प्रष्ट छौं ।’
उनले अगाडि भने, ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिबकरिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र रुपमा होस् । परिणमले राजनीतिक स्थायित्वलाई एकतालाई प्रवद्र्धन गर्न मद्दत गरोस् भन्ने छ ।’
प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १०:३६