बिबाहका लागि बलात्कारको मुद्दा हाल्ने किशोरीलालाई तीन वर्ष कैद सजाय
१६ चैत, अछाम । बिबाहका लागि बलात्कारको मुद्दा हाल्ने किशोरीलालाई तीन वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत अछामले सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित तीन वर्षको जेल सजाय सुनाएको छ। अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो।
ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन्। गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो। तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन्।
दुवैजनाको बयान सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दा अदालत लगेको थियो। अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ। यस प्रकरणमा किशोरीलाई तीन वर्ष जेल सजाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ।
प्रकाशित मिति : March 30, 2022 at 10:26 pm







