१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

म्यादी प्रहरीकाे छनाेट सुरु, रुपन्देहीमा तीन गुणा बढीकाे आवेदन, मनाङमा न्यून (फाेटाेफिचर)

१५ चैत, भैरहवा । आगामी चुनावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले निश्चित समयका लागि म्यादी प्रहरी माग गरेकाे छ । प्रहरी प्रधान कार्यालयले देशव्यापी रूपमा सबै जिल्लामा र उपत्यकाका लागि निवेदन दर्ता माग गरिएकाे छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि मनाङमा २५८ जना माग गरेकाेमा आवश्यकभन्दा न्यूनले आवेदन दिएका छन् ।

यही ६ देखि ११ चैतसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कम १४२ जनाको मात्र आवेदन परेकाे छ । मागभन्दा कमको आवेदन परेपछि विगतमा अन्य जिल्लाबाट ल्याएर माग पूर्ति गरिएकाे थियाे । केही जिल्लामा मागभन्दा कम भए पनि रुपन्देहीमा तीन गुणा बढीले आवेदन दिएका छन । रुपन्देहटीमा एक हजार ५७९ महिलासहित नाै हजार ४२४ जनाले निवेदन दिएका छन् ।

म्यादी प्रहरीको छनोट प्रक्रिया १५ चैतदेखि सुरू भएकाे छ । रुपन्देहीमा २०८ मतदानस्थलका लागि आगामी निर्वाचनका लागि ९४ वटा मतदान केन्द्र थपिएकाे छ । ७०४ वटा मतदान केन्द्र निर्धारण भएको रुपन्देहीको १६ वटा स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, उच्च सुरक्षा संवेदनशीलता, मतदान केन्द्रको संख्याको आधारमा निर्वाचनको सुरक्षाका लागि ती म्यादी प्रहरी खटाइने भएको हो ।

४० दिन काम गर्न पाउने गरी नेपाल प्रहरी जवान सरहको सेवासुविधा पाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । भैरहवामा रहेकाे संघीय प्रहरी ईकाई कार्यलयमा आज मंगलबारबाट स्वास्थ्य परीक्षण र शारीरिक परीक्षण गरि छनाेटकाे काम अगाडि बढाइएकाे छ ।

जिल्लाको सुरक्षा चुनौती, निर्वाचन क्षेत्र, मतदानस्थल, मतदान केन्द्रलगायतका स्थिति र अघिल्लो निर्वाचन सुरक्षा रणनीतिलाई आधार बनाएर जिल्लामा दुई हजार ३६० जना म्यादी प्रहरी भर्ना लिइनेछ ।

म्यादी प्रहरीले पारिश्रमिकमध्ये ४० दिनको लागि ३० हजार २४० पारिश्रमिक, राशनवापत सात हजार २०० , पोसाक र अन्य खर्च ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने कार्यालयले जानकारी दिएको छ । छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन २२ चैतमा गरिनेछ । छनोटमा परेका आवेदकलाई २८ चैतबाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदानस्थल र केन्द्र तथा आवश्यकताअनुसार गस्तीमा खटाइनेछ ।

प्रकाशित मिति : March 29, 2022 at 3:59 pm