१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

भीमेश्वर नगरपालिकामा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर

१५ चैत, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले मिति २०७८ चैत्र १३ गतेबाट आफ्नो ५० औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन नेपाल बैंक लिमिटेड सञ्चालक समितिकाअध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक एवं बैंक सञ्चालक समितिकाअध्यक्ष सुमनराज अर्यालले समुद्घघाटन समारोहलाई सम्बोधन गर्दै काठको कन्तुरबाट शुरु भएको बैंकको इतिहास डिजिटल बैंकिङसम्म आईपुगेको र बैंकले बढ्दो प्रतिस्पर्धामा आफुलाईअब्बल राख्न सामिप्यताको सिद्घान्त अबलम्वन गरेको बताए ।

उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख  डबल पाण्डेले जिजु बाजेको बैंकले नाति पनातिको पुस्तालाई जोड्न सकेकोमा खुसी व्यक्त गरे । त्यसैगरी भीमेश्वर नगरपालिकाका प्रमुख केसीले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय एवं छिटो छरितो सेवाप्रदान गर्न कार्यालय परिसर भित्रै बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको र बैंकको एक्सटेन्सन काउन्टर स्थापनाले समृद्द भीमेश्वर स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी नेपाल बैंक लिमिटेडका प्रमुख कार्याकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको र यसले बैंक र नगरपालिकाबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।

नेपालभर २१३ शाखाहरु, १४८ एटिएमका साथै ५० एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेकाे छ । विगत केहि बर्ष यता बैंकले छिटाेछरिताे र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत देशैभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : March 29, 2022 at 3:07 pm