२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

१३ चैत, लमजुङ । मनाङ पुग्न अहिले पनि काठे पुलकै भर पर्नुपर्छ । बेंसीसहर–चामे सडक ६५ किलोमिटरमध्ये ३० किमि मनाङ खण्डमा यस्ता काठका कयाै‌ं पुल छन् । अब भने यस्ता पुल हट्ने भएका छन् । मनाङका खोलामा रहेका काठका पुल हटाएर बेलिब्रिज निर्माण गरिएको हाे । स्याल्क्यु खोलामा निर्माण गरिएको बेलिब्रिज गत ३१ जेठमा आएकाे भिषण वर्षापछिको बाढीले बगाएको थियाे । चामेको घट्टेखोलाको स्ल्याब, कल्भर्ट, पुल, माडाखोलाको काठेपुल पनि बगाएको छ ।

तर, केही दिनअघि मात्रै तिमाङ छहराको दुई ठाउँमा काठेपुल विस्थापन गरी स्ल्याब ढलान गरेर पक्की पुल निर्माण गरिएको छ । नासों–९ दानक्यु र चामे गाउँपालिका–१ तिमाङको तल्लो क्षेत्रको तिमाङ छहरामा उक्त कल्भर्ट पुल निर्माण गरिएको हो । डुम्रे-बेंसीसहर-चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले तिमाङ छहराको दुई ठाउँमा काठेपुल हटाएर स्ल्याब कल्भर्ट पुल निर्माण गरिएको बताए ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले तल्लो तिमाङ स्ल्याब कल्भर्ट पुल भ्याट र कन्टिनजेन्सीसहित ११ लाख ८५ हजार पाँच सय ३९ रुपैयाँ ५१ पैसा र माथिल्लो तिमाङ स्ल्याब कल्भर्ट १९ लाख ९४ हजार तीन सय ७२ रुपैयाँमा निर्माण गरिएको हो । दुवै कल्भर्ट पुल ग्याल्सुम्दो कन्स्ट्रक्सन एन्ड सप्लायर्सले निर्माण गरेको हो । कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले कल्भर्ट पुल निर्माणपछि दैनिक मनाङ आवतजावत गर्ने सवारीसाधनलाई सहज हुने बताए ।

चामेबाट तल मनाङ खण्डमा मात्रै ६ ठाउँमा काठेपुल छ । दानाक्यु खोला र चामेको घट्टेखोलामा स्ल्याब बगाएको ठाउँमा बेलिब्रिज राख्नका लागि प्रक्रियाअघि बढेको उनले बताए । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बाढीपहिरोका कारण बगाएको सडकपुलको मर्मत तथा पुनःस्थापना गरिनुपर्ने बताए । उनका अनुसार नासोंको दानक्युखोला, थान्चोकको स्यार्कुखोला, तिमाङको स्याल्क्युखोला लगायत ठाउँमा अहिले पनि काठेपुल छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १२:५४